NM Khabar 12 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विष्णु पौडेल जोडिएको सम्पत्ति मुद्दा: दीपक भट्टलाई विशेष अदालतबाट थुनामुक्तिको आदेश

विशेष अदालतले विष्णु पौडेल जोडिएको सम्पत्ति शुद्धीकरणको पूरक मुद्दामा व्यवसायी दीपक भट्टलाई निःशर्त रिहा गर्ने आदेश दिएको छ। मूल मुद्दामा थुनामा रहेकाले भट्ट तत्काल जेलमुक्त हुने सम्भावना छैन। पौडेलमाथि अर्थमन्त्री हुँदा पदको दुरुपयोग गरी श्रीराम टोबाको सेयर हस्तान्तरणमा सहजीकरण गरेको आरोप छ।
Arjun Basnet
Arjun Basnet
12 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
दीपक भट्ट थुनामुक्त
Share:

व्यवसायी दीपक भट्टलाई विशेष अदालतले विष्णुप्रसाद पौडेल जोडिएको सम्पत्ति शुद्धीकरणको पूरक मुद्दामा निःशर्त रिहा गर्ने आदेश दिएको छ। बुधबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र हेमन्त रावलको इजलासले भट्टलाई तारेख वा धरौटीमा राख्नुनपर्ने निर्णय सुनाएको हो।

यद्यपि, भट्टविरुद्धको मूल सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा राख्ने आदेश कायमै छ। यसकारण पूरक मुद्दामा राहत पाए पनि उनी तत्काल जेलमुक्त हुने अवस्था छैन। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्धको मूल मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र दायर गरेको थियो।

पूरक अभियोगमा पूर्वअर्थमन्त्री पौडेललाई समेत प्रतिवादी बनाइएको छ। पौडेल अर्थमन्त्री छँदा पदको दुरुपयोग गरी श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर (३ लाख ७५ हजार कित्ता) भट्टसँग सम्बन्धित कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप छ। उक्त अभियोगमा भट्टविरुद्ध करिब ४७ करोड ७७ लाख ६६ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

जगदम्बा ग्रुपका अध्यक्ष शुलभ अग्रवाललाई पनि सोही पूरक मुद्दामा साधारण तारेखमा बस्न नपर्ने आदेश विशेष अदालतले गरेको छ। पूर्वअर्थमन्त्री पौडेललाई भने साउन १ गते साधारण तारेखमा रिहा गर्न आदेश दिइएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार