NM Khabar 4 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बेतना सिमसारमा ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा

मोरङको बेतना सिमसारमा भेटिएका अतिसङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा छन्। मानवीय चाप, अनियन्त्रित पर्यटकीय गतिविधि, प्लास्टिकजन्य फोहर र सिमसार क्षेत्रमा बनेका कङ्क्रिट संरचनाले कछुवाको बासस्थान र प्रजनन प्रक्रियामा बाधा पुर्‍याएको छ। संरक्षण अधिकृत र विज्ञहरूले कछुवाको भविष्य सङ्कटमा परेको भन्दै तत्काल संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्।
Kamala Devi
Kamala Devi
4 June 2026, 8:18 pm १ मिनेट पढाइ
आकार:
ब्लाक सफ्टसेल कछुवा
Share:

मोरङको बेतना सिमसारमा करिब चार वर्षअघि फेला परेका अतिसङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा संरक्षण अभावमा लोप हुने अवस्थामा छन्। अष्ट्रियाका वैज्ञानिक टोलीले दुई दर्जनभन्दा बढी कछुवा फेला पारेका थिए।

सन् २०२२ मा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको टोलीले बेतना सिमसारमा ‘निलोस्सोनिया निगृकन्स’ प्रजातिको कछुवा फेला पारेको थियो।

आइयुसिएनको रातो सूचीमा अतिसङ्कटापन्न यो कछुवाका लागि बेतना सिमसार प्राकृतिक वरदान हुनुपर्नेमा मानवीय चाप र चेतनाको अभावले भविष्य सङ्कटमा परेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए।

पर्यटन प्रवर्द्धनका नाममा सिमसारमा भइरहेका अनियन्त्रित गतिविधि कछुवाका लागि अभिसाप बनेका छन्। “वनभोजको घुइँचो, चर्को सङ्गीत र जथाभावी फालिने प्लास्टिकले पानीको गुणस्तर बिगारेको छ। यसले कछुवाको शान्त वातावरणमा खलल पुर्‍याएको छ”, पोखरेलले भने।

पोखरेलका अनुसार जथाभावी फालिने प्लास्टिकजन्य फोहर कछुवासहित अन्य जीवले निल्दा वा अल्झिएर मृत्यु हुनसक्छ। “समुद्री क्षेत्रका कछुवामा यो समस्या बढी देखिएको छ। नेपालमा यससम्बन्धी तथ्याङ्क कम छ”, उनले भने।

प्रदूषणले सिमसारको पारिस्थितिकीय प्रणाली बिगारेको छ। कछुवाले प्लास्टिकलाई खाना सम्झेर निल्दा ज्यानै जाने जोखिम छ। “प्लास्टिक टुक्रिएर माइक्रोप्लास्टिक बन्दा जल र माटोको विषाक्तता बढेर खाद्य चक्रलाई असर गर्छ”, पोखरेलले बताए।

सिमसार किनारमा जम्ने प्लास्टिकले कछुवाको गुँड बनाउने र अण्डा कोरल्ने प्रक्रियामा बाधा पुर्‍याउँछ। सिमसार सौन्दर्यीकरणका नाममा बनेका कङ्क्रिट संरचनाले उनीहरूको प्राकृतिक ओथारो बस्ने ठाउँ नासेको छ।

“कछुवालाई पर्यटकको गतिविधि, उनीहरूले दिएको खानेकुरा, बाहिरबाट ल्याइएका मिचाहा प्रजातिका माछा, सडकको थर्कावट, निर्माण र विषादीले असर गर्छ”, डा रामचन्द्र अधिकारीले बताए। कछुवा प्रकृतिको महत्वपूर्ण जन्तु भएकाले संरक्षण आवश्यक छ।

बेतना सिमसार वन उपभोक्ता समिति अध्यक्ष शम्भू भट्टराईले समितिबाट कछुवालाई असर पुग्ने काम नभएको दाबी गरे। “कछुवाले पानी सफा राख्छन् र पारिस्थितिक प्रणाली सन्तुलित राख्छन्। माछा मार्ने जालमा परेर वा स्थानीयले महत्व नबुझ्दा यी दुर्लभ जीवले ज्यान गुमाउँछन्”, उनले भने।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार