नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायतका नेता सहभागी छन्।
यो चौथो पटक हो जब भारतले ब्रिक्स शिखर सम्मेलनको आयोजना गरेको छ। पश्चिम एसिया र युक्रेन युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको छ। ‘ट्यारिफ’को दबाब बढिरहेको छ। सदस्य राष्ट्रबीच यी चुनौती सामना गर्ने विषयमा मतभेद छ।
विनाडलर सीमापार भुक्तानी प्रणाली विस्तार तथा कृत्रिम बुद्धिमत्ता (एआई) मा सहकार्य सम्मेलनका प्रमुख एजेन्डाहरू हुन्।
दुई एसियाली शक्तिबीच सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप चिनियाँ राष्ट्रपति सी शनिबार नयाँ दिल्ली पुगे। सन् २०१९ पछि यो उनको पहिलो भारत भ्रमण हो। उनको विमान दिल्लीस्थित पालम एयरबेसमा अवतरण गर्यो।
सी सन् २०१९ मा भारत गएका थिए। त्यसक्रममा चेन्नईनजिकैको मामल्लापुरममा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक शिखर वार्ता भएको थियो।
सी नयाँ दिल्ली पुग्नुअघि चाइना सदर्न एयरलाइन्सले ६ वर्षपछि भारत र चीनबीच सिधा उडान सेवा पुनः सुरु गर्ने घोषणा गर्यो।
शुक्रबार प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने सहमति जनाए। इरानी राष्ट्रपति पेजेस्कियानसँगको वार्तामा जल यातायातको स्वतन्त्रता र जहाज कर्मचारी सुरक्षाको विषय उठ्यो।
इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल–सिसी, इथियोपियाका प्रधानमन्त्री अबी अहमद र इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो पनि सम्मेलनमा सहभागी छन्।
संयुक्त अरब इमिरेट्सले अबुधाबीका युवराजलाई आफ्नो प्रतिनिधिका रूपमा पठायो। संस्थापक सदस्य ब्राजिलले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको स्थानमा विदेशमन्त्री माउरो भिएरालाई पठायो।
