बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले छोरासँगको विवादपछि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल पुर्याएको छ।
शनिबार बिहान सवा ६ बजेतिर राउतले घरको भान्सा कोठामा तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ। घटनाका बेला श्रीमती र छोरा कोही घरमा थिएनन्। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले प्रारम्भिक अनुसन्धानमा राउतको छोरासँग केही विषयमा विवाद भएको खुलेको बताए। छिमेकीका अनुसार शुक्रबार घाइतेको छोरासँग छलफल भएको थियो।
