सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान विशेष अदालतमा नसकिएपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको छ।
सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान भएको थियो।
सोमबार भट्ट र अग्रवालको बयान पूरा नभएपछि मङ्गलबार पनि बयान जारी रहनेछ। बयान सकिएपछि थुनछेक बहस हुनेछ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर प्रतिवादी छन्। सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ का अध्यक्ष हुन्।
हिमालयन रि–इन्स्योरेन्स लगायतका कम्पनीको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो। दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो। सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए।
अदालतमा पेस भएको अभियोगपत्रअनुसार, आर्थिक वर्ष २०७४/७५ मा घरजग्गाको पुनःमूल्यांकन गरी ३५ करोड ६८ लाख ८६ हजार २३ रुपैयाँ थप मूल्य कायम गरेको आरोप छ।
आर्थिक वर्ष २०७७/७८ मा इन्फिनिटी होल्डिंग्स प्रालिमा ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ। आर्थिक वर्ष २०७९/८० मा नौ करोड ५० लाख रुपैयाँ पुँजी थपिएको देखिन्छ। यी रकम कर्जा अपचलन गरी बैंकिङ कसुरमार्फत प्राप्त भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी छ।
