NM Khabar 20 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्र बैंकको स्वायत्तता कि सरकारसँगको समन्वय: संसदीय समितिमा बहस

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सरकारबाट पूर्ण रूपमा पृथक राख्न नसकिने बताएको छ। मौद्रिक नीति र वित्तीय नीतिबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ। राष्ट्र बैंकको स्वायत्तता र सरकारको हस्तक्षेपबारे संसदीय समितिमा बहस भएको छ।
Sunita Rai
Sunita Rai
19 July 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
राष्ट्र बैंक स्वायत्तता
Share:

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक भएर काम गर्न नसक्ने स्पष्ट पारेको छ। मौद्रिक नीति र वित्तीय नीति एकअर्काका पूरक भएकाले दुवैबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखिएको छ।

आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले राष्ट्र बैंकको स्वायत्तता आवश्यक भए पनि सरकारसँगको समन्वय कमजोर हुन नहुने बताए। उनले राष्ट्र बैंकलाई पूर्ण रूपमा स्वतन्त्र ‘आइभोरी टावर’ वा ‘साइलो’मा बसेर काम गर्ने संस्थाका रूपमा हेर्न नमिल्ने उल्लेख गरे। मौद्रिक र वित्तीय नीति सँगसँगै अघि बढे मात्र समग्र आर्थिक लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो। ‘राष्ट्र बैंक एउटा ‘आइभोरी टावर’ वा ‘साइलो’मा बसेर काम गर्न सक्दैन। मौद्रिक नीति र वित्तीय नीति सँगसँगै गएन भने समग्र आर्थिक नीतिले लिएको लक्ष्य प्राप्त गर्न सकिँदैन,’ लम्सालले भने।

लम्सालले राष्ट्र बैंकलाई सरकारबाट पूर्ण रूपमा अलग राख्ने अवधारणाले भविष्यमा समन्वय अभाव र निर्णय प्रक्रियामा अकर्मण्यता निम्त्याउन सक्ने चेतावनी दिए। उनले बेलायत, भारत, जापान र बंगलादेशका केन्द्रीय बैंकहरूको उदाहरण दिँदै ती देशहरूमा पनि सरकारसँग कुनै न कुनै तहमा समन्वय रहने व्यवस्था रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले विधेयकका विभिन्न व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बताइन्। उनले बैंक तथा वित्तीय संस्थाको नियमन, निक्षेप नउठाउने वित्तीय संस्थालाई राष्ट्र बैंकको सुपरिवेक्षणमा ल्याउने प्रस्ताव, समस्याग्रस्त बैंक व्यवस्थापन, ‘रेजोलुसन’ प्रक्रियाको कानुनी व्यवस्था, डिजिटल करेन्सी, गभर्नरको योग्यता तथा ‘कुलिङ पिरियड’ लगायतका विषय स्पष्ट र परिमार्जित हुनुपर्ने माग गरिन्।

नेपाल कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्र बैंकका उच्च अधिकारी अवकाशपछि निजी बैंकमा जाने र निजी क्षेत्रका व्यक्तिहरू पुनः राष्ट्र बैंकको नेतृत्वमा पुग्ने अभ्यासले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व) सिर्जना गर्न सक्ने जोखिमबारे प्रश्न उठाए। ‘राष्ट्र बैंकका विशेष श्रेणीका अधिकृतहरू अवकाशपछि निजी बैंकमा जाने, अनि निजी क्षेत्रबाट फेरि राष्ट्र बैंकको नेतृत्वमा आउने अवस्था देखिन्छ। यो कतै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ त होइन? ऐन संशोधन गर्दा यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने मेरो जिज्ञासा हो,’ उनले भने।

तामाङले मौद्रिक नीति निर्माणलाई अझ स्वायत्त बनाउने, सहकारी क्षेत्रको नियमन प्रभावकारी बनाउने तथा बैंकिङ पहुँच विस्तारका विषयलाई पनि ऐनमार्फत स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकलाई स्वायत्त बनाउन सञ्चालक समितिबाट अर्थ मन्त्रालयका सचिवलाई हटाउनुपर्ने माग गरिन्। उनले अर्थ मन्त्रालयको प्रतिनिधि राष्ट्र बैंकको बोर्ड सदस्य हुँदा सरकारको हस्तक्षेप हुने उल्लेख गरिन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार