प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश दुई दिनपछि कार्यान्वयनमा आएको हो।
गत सोमबार मल्लले दरपीठ भएका निवेदनहरू दिनको १ बजेभित्र दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गरेकी थिइन्। तर, सोही दिन निवेदन दर्ता गरिएन।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अधिवक्ता प्रेमराज सिलवालको निवेदन बुधबार दर्ता भएको हो। उक्त निवेदनको पहिलो पेशी जेठ ११ गते तोकिएको छ।
यसअघि दरपीठविरुद्ध पुनः निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाइ अल्झाएर राखेको भन्दै अधिवक्ताहरूले गुनासो गरेका थिए।
संवैधानिक परिषद्ले वरीयता मिचेर चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। शर्माले हाल प्रधानन्यायाधीशको पदभारसमेत सम्हालिसकेका छन्।
