NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगरमा मुख्यमन्त्री सम्मेलन: सङ्घीयता कार्यान्वयन र समृद्धिको बहस

विराटनगरमा असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन आयोजना हुनेछ। सम्मेलनमा सङ्घीयता कार्यान्वयनका चुनौती, असल अभ्यास र प्रदेशबीच समन्वयमा छलफल हुनेछ। पर्यटन प्रवर्द्धन र प्रदेशस्तरीय आर्थिक सहकार्यका विषयले पनि प्राथमिकता पाउनेछन्।
Kamala Devi
Kamala Devi
26 September 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री सम्मेलन विराटनगर
Share:

कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको यस सम्मेलनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायमा छलफल गरिनेछ। प्रदेश सरकार गठन र सञ्चालनका असल अभ्यासहरूका साथै अनुभव आदानप्रदान गरिनेछ।

सम्मेलनमा प्रदेशस्तरीय एवं तीन तहका सरकारबीचको समन्वय, सहकार्य, सुशासन र आर्थिक समृद्धिका विषयमा छलफल केन्द्रित हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सम्मेलनलाई व्यवस्थित बनाउन तयारी सुरु भएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सडक, पुल निर्माण, उद्योग र पर्यटन प्रवर्द्धनले आर्थिक गतिविधि चलायमान बनाउने बताए। प्रदेशस्तरीय सम्बन्ध सुदृढ तुल्याउन सम्मेलन कोशेढुङ्गा सावित हुने उनको विश्वास छ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले प्रदेशमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता र उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने बताए। सङ्घीयता कार्यान्वयन, राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण र कानुनी पक्षमा छलफल भई स्पष्ट दिशानिर्देश हुने उनको भनाइ छ।

सम्मेलनको तयारी र समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ। योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते उद्घाटनपछि प्रदेशहरूले गरेका असल अभ्यास र समस्या समाधानका उपायबारे छलफल हुनेछ।

कार्यक्रमअन्तर्गत मुख्यमन्त्रीहरूलाई विराटनगर आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गराइनेछ। पहिलो पटक आयोजना हुन लागेको सम्मेलनलाई नियमित बनाउने र प्रदेश मुख्यमन्त्रीहरूबीच समन्वयका लागि स्थायी फोरमका रूपमा विकास गर्ने तयारी छ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका उत्पादन अन्य प्रदेशमा लैजाने र अन्य प्रदेशका उत्पादन कोशीमा ल्याउने गरी व्यापार प्रवर्द्धनका लागि समझदारी गर्ने तयारी भइरहेको बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार