खैरहनी नगरपालिका–१ को एक व्यावसायिक फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। जेठ २३ गते संक्रमण पुष्टि भएपछि २४ गतेबाट कुखुरा नष्ट गर्ने कार्य सुरु भएको थियो।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार तीन दिनसम्म कुखुरा नष्ट गरेपछि मंगलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी ‘सिल’ गरियो। यस क्रममा १ हजार ४ सय ५ पेटी अण्डा र १२ टन दाना पनि नष्ट गरियो। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाइएको नमुनामा एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि यो कारबाही गरिएको हो।
यसअघि चैत्र १२ गते भरतपुर महानगरपालिका–४ को एक फार्ममा संक्रमण पुष्टि हुँदा १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो। नेपालमा ‘एच फाइभ एन वान’ प्रकारको बर्ड फ्लूको प्रभावकारी उपचार छैन। रोग तीव्र गतिमा फैलिन सक्ने भएकाले नियन्त्रणका लागि कुखुरा र दानासमेत नष्ट गरियो।
सरकारले क्षति न्यूनीकरणका लागि प्रभावित किसानलाई ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ। चितवनमा २०७८ सालमा बर्ड फ्लू महामारी फैलिँदा करिब ८ लाख कुखुरा नष्ट गरिएको थियो। त्यसपछि पहिलोपटक यस वर्ष पुनः संक्रमण देखिएको हो। नेपालमा सन् २००९ मा झापामा पहिलोपटक बर्ड फ्लू पुष्टि भएको थियो।
हाल झापा, सुनसरी, मोरङलगायतका जिल्लामा पनि बर्ड फ्लू देखिएको छ। काठमाडौंको कीर्तिपुर क्षेत्रमा कागमा समेत संक्रमण पुष्टि भएको राष्ट्रिय पक्षी रोग अनुसन्धान प्रयोगशालाले जनाएको छ। यी जिल्लामा हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएको पशु सेवा विभागको तथ्यांक छ।
प्रयोगशालाका प्रमुख डा. विजय श्रेष्ठका अनुसार बर्ड फ्लू मुख्यतः कुखुरा, हाँस तथा जंगली चरामा लाग्छ। चराचुरुङ्गीको दिसाबाट समेत सर्ने भएकाले जैविक सुरक्षा उपाय अपनाउनु अत्यावश्यक छ। चराचुरुङ्गी, मानिस, खोरमा काम गर्ने व्यक्ति र कुखुराजन्य पदार्थ बोक्ने सवारी साधनबाट संक्रमण फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।
उनले व्यावसायिक फार्मका किसानले दाना उद्योगसहित जैविक सुरक्षाका उपाय अपनाउन जरुरी रहेको बताए। फार्ममा नियमित सरसफाइ, औषधि प्रयोग, जंगली चराको प्रवेश रोक्ने र कुनै असामान्य अवस्था देखिए तत्काल नजिकको पशु शाखामा जानकारी गराउन आग्रह गरिएको छ। हाल संक्रमण सानो समूहमा सीमित रहेको र अन्य क्षेत्रमा नफैलिएको जनाइएको छ।
चितवनमा कुखुरा पालन व्यवसाय उद्योगका रूपमा विस्तार भइरहेको अवस्थामा उच्च सतर्कता अपनाउन सरोकारवालाले सुझाव दिएका छन्। उपभोगका लागि प्रयोग गरिने मासु र अण्डा राम्रोसँग पकाएर खान आग्रह गरिएको छ। पछिल्लो समय जाडो मौसमसँगै चैतदेखि जेठसम्म पनि बर्ड फ्लू देखिन थालेकाले थप सतर्कता आवश्यक रहेको पशु सेवा कार्यालयका प्राविधिक दिपचन्द्र घिमिरेले जानकारी दिए।
नेपालमा कुखुराजन्य क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ। यसको आधाभन्दा बढी चितवनमा छ। आर्थिक वर्ष २०८१/८२ मा चितवनमा एक करोड आठ लाख कुखुरा रहेका छन्। चितवनमा साना–ठूला गरी हजारौं पोल्ट्री फार्म र सयभन्दा बढी ह्याचरी सञ्चालनमा छन्।
