जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर गम्भीर आशंका व्यक्त गरेका छन्। राउतले उक्त भ्रमण मधेशी नेतृत्वलाई कमजोर बनाउने वा ‘सफाया गर्ने’ रणनीतिको हिस्सा नबनोस् भन्दै चिन्ता जनाएका हुन्।
नेपालमा पहिलोपटक एक मधेशी नेता प्रधानमन्त्री बनेको सन्दर्भमा राउतको यो टिप्पणी आएको हो। उनका अनुसार, यो भ्रमणले वर्तमान मधेशी प्रधानमन्त्रीको विकल्प खडा गर्ने, उनको राजनीतिक हैसियत घटाउने तथा विगतमा अन्य मधेशी नेताहरूमाथि गरिएजस्तै राजनीतिक दबाब सिर्जना गर्ने प्रयास हुन सक्ने दाबी गरेका छन्।
‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस्,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्। उनले थपे, ‘चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ। तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशी नेतालाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।’
राउतले लामिछानेको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर लगायतसँगको भेटवार्तालाई लक्षित गर्दै यो टिप्पणी गरेका हुन्। उनले भारतले सभापति रविलाई निम्तो दिएर मधेशी प्रधानमन्त्रीलाई निशाना बनाएको आरोप लगाएका छन्।
उनले नेपालका मधेशी नेताहरूलाई विगतदेखि नै विभिन्न माध्यमबाट स्थापित हुन नदिइएको आरोप दोहोर्याए। उनका अनुसार, तराई कांग्रेसदेखि लिएर जसपा र जनमत पार्टीसम्मका नेतृत्वलाई पार्टी विभाजन, बदनाम, देशद्रोहीको आरोप, पक्राउ तथा अन्य राजनीतिक गतिविधिमार्फत कमजोर बनाउने प्रयास हुँदै आएको छ।
‘आजसम्म नेपालमा कुनै पनि मधेशी नेतालाई स्थापित हुन दिइएन। तराई कांग्रेसदेखि जसपा र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई आजसम्म स्थापित हुन दिइएन,’ राउतले भने। ‘दुर्भाग्यले अब निशानामा विचरा मधेशी प्रधानमन्त्री हुनुहुन्छ।’
यद्यपि, राउत बाहेक अन्य कुनै नेताले यस प्रकारको प्रतिक्रिया भने दिएका छैनन्। सभापति लामिछानेलाई भारतका उच्च नेताहरूले विशेष महत्व दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लामिछानेसँगको भेटघाटपछि खुसी व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। मोदीले नेपालको नयाँ सरकारसँग मिलेर दुई देशबिचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्थानमा पुर्याउन आफूहरू उत्सुक रहेको बताएका छन्।
