नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। समूहले आगामी भाद्र १७ गते चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाएको छ।
शनिबार जारी सूचना अनुसार, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उक्त बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकमा १५औं महाधिवेशनको समग्र तयारी, समसामयिक राजनीतिक विषयवस्तु र अन्य विविध पक्षमा छलफल हुने कार्यसूची तय गरिएको छ।
इतर समूहका संयोजक डा. शशांक कोइरालाले १५औं महाधिवेशन छुट्टै गर्ने गरी कार्यतालिका ल्याउने बताएका छन्। सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण यसलाई सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व बोध भएको कोइरालाको भनाइ छ।
कोइरालाले नेता कार्यकर्ताहरूलाई १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्। उनले विशेष महाधिवेशन पक्षधरले गर्ने अधिवेशनमा सहभागी नहुन पनि अनुरोध गरेका छन्।
