काठमाडौं । नेपाली कांग्रेसको इतर समूहमा १५औँ महाधिवेशनको तयारीसँगै शक्ति संघर्ष चर्किन थालेको छ। राष्ट्रिय भेलाले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिएपछि निवर्तमान उपसभापति पूर्णबहादुर खड्का असन्तुष्ट बनेको चर्चा कांग्रेस वृत्तमा सुरु भएको छ।
साउन २९ देखि ३१ गतेसम्म चलेको इतर समूहको राष्ट्रिय भेलाले ५ बुँदे निर्णय सार्वजनिक गरेको थियो। भेलाले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि शशांक कोइरालाको संयोजनमा अघि बढाउने निर्णय गरेको थियो। निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा भेला र सम्मेलनका संयोजकले नियमित गतिविधि सम्हाल्ने उल्लेख छ।
यो निर्णयले ‘अप्ठ्यारो पर्दा कमान्ड, महाधिवेशन आउँदा किनार’को अवस्था सिर्जना गरेको खड्का निकट नेताहरूको गुनासो छ।
जनआन्दोलनपछि कांग्रेसभित्र संकट उत्पन्न हुँदा कार्यवाहक सभापतिको भूमिका सम्हाल्दै खड्का पार्टीलाई कानुनी र सांगठनिक रूपमा जोगाउन सक्रिय थिए। विशेष महाधिवेशनको विवाददेखि निर्वाचन आयोग र सर्वोच्च अदालतसम्मको कानुनी प्रक्रियामा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
तर, संकटको बेला अगाडि सारिएका खड्कालाई निर्णायक घडीमा पन्छाएर शशांकलाई जिम्मेवारी दिइएको भन्दै उनी निकट नेताहरू असन्तुष्ट छन्। यही असन्तुष्टिको संकेतका रूपमा खड्का राष्ट्रिय भेलाको समापनमा सहभागी भएनन्।
खड्का निकट नेताहरूको तर्क छ—‘पार्टी जोगाउने बेला पूर्णबहादुर, अब पार्टी चलाउने बेला शशांक?’ यही प्रश्नले इतर समूहको भित्री राजनीति तताएको छ।
अर्कोतर्फ, शशांकलाई संयोजक बनाउने निर्णयले कांग्रेसभित्र देउवापछिको उत्तराधिकारी को? भन्ने पुरानो बहसलाई बलियो बनाएको छ। १५औँ महाधिवेशनमा डा. शेखर कोइराला सभापतिको दाबेदार हुन्। शशांकले आफू पनि दाबेदार हुनसक्ने संकेत दिएका छन्। यद्यपि दाजु शेखर उम्मेदवार बने सहयोग गर्ने उनको सार्वजनिक अभिव्यक्ति छ।
कांग्रेस इतर समूहमा प्रश्न महाधिवेशन कहिले हुन्छ भन्ने मात्र छैन। महाधिवेशनसम्म पार्टीको कमान्ड कसको हातमा हुन्छ भन्ने पनि हो।
शशांकलाई संयोजक बनाएर समूहले संगठन सञ्चालनको जिम्मेवारी स्पष्ट पार्न खोजेको देखिन्छ। यसले खड्का पक्षलाई भने ‘काम पर्दा सम्झिने, निर्णय गर्दा बिर्सिने’ शैलीको व्यवहार भएको अनुभूति गराएको छ।
कांग्रेसको यो शक्ति समीकरण कहाँ पुग्छ भन्ने हेर्न बाँकी छ। १५औँ महाधिवेशन आउन अझै समय होला, तर कांग्रेसभित्र कुर्सीको दौड अहिलेबाटै सुरु भइसकेको छ।
