नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि देशभरका वडामा अधिवेशन सम्पन्न हुनेछ।
वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ। कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्यका लागि मनोनयन गर्ने अधिकारसमेत दिइएको छ। गाउँपालिकाका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिकाका वडा सभापतिले ६ र महानगरपालिकाका वडा सभापतिले सातजनालाई मनोनयन गर्न पाउनेछन्।
वडा समितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ। विधानमा समावेशी सिद्धान्तअनुसार सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिँदै क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने व्यवस्था छ।
गाउँ, नगर, उपमहानगर र महानगरका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन्। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन हुनेछ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को मतदाता नामावली नआएका कारणले शनिबार निर्वाचन हुने सम्भावना कम देखिएको छ। कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले धनुषा जिल्लाको क्षेत्र नम्बर ४ का मतदाता नामावली नआएको, १, २ र ३ को नामावली आए पनि शनिबार निर्वाचन हुने सम्भावना नदेखिएको बताए। स्रोतका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ को जनकपुरधामको वडा नम्बर १९ र लक्ष्मिनियाको सपहीमा सदस्यता विवाद रहेकाले नयाँ नामावली नपठाइएको हो। यी दुवै वडामा क्रियाशील सदस्यता थपिएपछि विवाद सिर्जना भएको हो।
गगन थापा समूहको महाधिवेशनमा देउवा समूहका नेता कार्यकर्ता सहभागी नहुने भएका छन्। देउवा समूहले असोज १५ गते वडा अधिवेशनको मिति तय गरेको छ। देउवा पक्षधरले मंसिर २१ गतेदेखि छुट्टै महाधिवेशनको कार्यतालिका तय गरेका छन्।
वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सह–सचिव निर्वाचित गर्नेछ। कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन्। गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुने छन्। नगर–उपमहानगरपालिका वडा अधिवेशनले दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जना वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन्।
