NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री साहले माफी नमागेसम्म सदन चल्न नदिने कांग्रेसको चेतावनी

• प्रधानमन्त्री बालेन्द्र साहले 'नेपालले भारतको भूमि मिचेको छ' भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले संसदमा माफी माग्नुपर्ने माग गरेको छ। • राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती र निन्दनीय भन्दै सदन चल्न नदिने चेतावनी दिए। • कांग्रेसले प्रधानमन्त्रीले तथ्यसहित जवाफ दिनुपर्ने वा गल्ती स्वीकार्नुपर्ने अडान लिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 June 2026, 1:48 pm १ मिनेट पढाइ
आकार:
प्रधानमन्त्री साह माफी
Share:

प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले भारतको धेरै ठाउँ मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसले संसदमा माफी नमागेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ। राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई घोर आपत्तिजनक र निन्दनीय ठहर गरेका हुन्।

सचेतक परियारले प्रधानमन्त्री साहमाथि कूटनीति र राजनीति सम्बन्धी सामान्य ज्ञानको समेत अभाव रहेको आरोप लगाए। उनले सरकार प्रमुखबाटै नेपालले भारतीय भूमि मिचेको स्वीकारोक्ति आउनु राष्ट्रघाती भएको आरोप लगाए। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित करिब ३७२ वर्ग किलोमिटर भूभाग भारतद्वारा अतिक्रमित भएको अवस्थामा यस्तो अभिव्यक्ति आउनु गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ थियो।

परियारले सीमा समस्याबारे बेलायतसँग कुरा भइरहेको भन्ने प्रधानमन्त्रीको दाबीलाई हास्यास्पद र संवेदनशील भन्दै त्यो सरकारको आधिकारिक धारणा हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र भनेर प्रश्न उठाए। उनले प्रधानमन्त्रीको भनाइ अक्ष्यम्य, आपत्तिजनक र घोर निन्दनीय भएको र यसले उहाँको कमजोर राजनीतिक चेतलाई उजागर गरेको बताए।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणप्रति पनि असन्तुष्टि जनाएको छ। परियारले लामिछानेले भारत भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्धलाई साँघुरो घेराबाट व्याख्या गरेको आरोप लगाए।

कांग्रेसले संसदमा स्पष्ट माग राख्दै प्रधानमन्त्री साहले कुन ठाउँमा र कति भारतीय भूमि नेपालले मिचेको हो, त्यसको तथ्य र प्रमाणसहित जवाफ दिनुपर्ने वा आफ्नो गल्ती स्वीकार्नुपर्ने अडान लिएको छ। परियारले प्रधानमन्त्रीले संसदमा ‘मैले तथ्यभन्दा बाहिर र आवेशमा आएर बोलेँ, आईएम सरी’ भन्न सक्ने हिम्मत राख्नुपर्ने बताए।

यदि प्रधानमन्त्रीले संसदमा आएर माफी नमागे नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले यथास्थितिमा सदनको कारबाही अगाडि बढाउन नदिने परियारले स्पष्ट पारे। उनले विना प्रमाण सीमा जस्तो संवेदनशील विषयमा सरकार प्रमुखलाई जथाभाबी बोल्ने छुट नभएको जिकिर गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार