चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। यो दर पछिल्लो २१ महिनायताकै उच्च हो। यसअघि २०८१ मङ्सिरमा मुद्रास्फीति ६.०५ प्रतिशत थियो।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्र थियो। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत छ। अघिल्लो वर्ष खाद्य समूहको मूल्यवृद्धि २.२८ प्रतिशतले ऋणात्मक थियो।
खाद्य समूह अन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य १५.६२ प्रतिशत र फलफूलको १५.३९ प्रतिशतले बढेको छ। माछा तथा मासुको ८.६५, तरकारीको ६.९० र मरमसलाको ४.८० प्रतिशतले मूल्यवृद्धि भएको छ।
गैर–खाद्य समूह अन्तर्गत यातायातको मूल्य सूचकाङ्क १३.१७ प्रतिशत र मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशतले बढेको छ।
प्रादेशिक हिसाबमा सबैभन्दा धेरै मुद्रास्फीति मधेस प्रदेशमा ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत मापन गरिएको छ। काठमाडौँ उपत्यकामा ४.८१ प्रतिशत, तराईमा ६.६४, पहाडमा ५.९५ र हिमालमा ५.१० प्रतिशत मुद्रास्फीति छ।
