मनाङको हिम्लुङ हिमालमा हिमपहिरोमा परेर १४ जना अझै बेपत्ता छन्। २७ जना सम्पर्कविहीन भएकामा ११ जना सम्पर्कमा आइसकेका छन्। दुई जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले शव काठमाडौं पठाउने तयारी भइरहेको बताए।
बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार नौ जनाको मृत्यु भएको थियो। शनिबार एक जनाको ज्यान गएको थियो।
तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ। निसीखोला गाउँपालिका-३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा श्यामकुमारी विकसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ।
तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ। व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले देशैभरका विपद्बाट हालसम्म २१ जनाको मृत्यु भएको बताएका छन्। उनले ५ जना बेपत्ता र ५ जना घाइते भएको जानकारी दिए। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै विपद्को जोखिम अझै कायमै रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
