धनुषा जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ नयाँ मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्षबाट सरेर आएका १६७ मुद्दा जोड्दा कुल ५०० मुद्दा पुगेका थिए। तीमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३१५ नयाँ मुद्दा दर्ता भएका थिए। त्यस वर्ष ३४७ मुद्दामा फैसला भएको थियो। मुद्दाको सङ्ख्यामा लगातारको वृद्धिले धनुषामा वैवाहिक सम्बन्धमा तनावको प्रवृत्ति बढ्दै गएको देखाउँछ।
कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षामा चेतना वृद्धि, महिलाको आर्थिक तथा सामाजिक सुधार, वैदेशिक रोजगारीका कारण पतिपत्नीको लामो वियोग, सामाजिक सञ्जालको प्रयोग, पारिवारिक विवाद र घरेलु हिंसाले सम्बन्धविच्छेद बढाएको छ।
महासेठले गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट फर्किएपछिको परिवर्तन, एक्लै बस्ने जीवनशैली र व्यक्तिगत स्वतन्त्रताप्रतिको चेतनाले दाम्पत्य सम्बन्धमा चुनौती थपेको बताए।
महिला वा पुरुष दुवैले अन्याय महसुस गरेमा कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको छ। यसले व्यक्तिगत अधिकारप्रतिको जागरूकता बढाएको छ। यसले पारिवारिक सम्बन्धमा संवाद र सहिष्णुताको कमीलाई पनि सङ्केत गर्छ।
कानुन व्यवसायी दीपककुमार विश्वकर्माले सम्बन्धविच्छेदका मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता बढेको बताए। समयमै परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादले घटना न्यूनीकरण गर्न सकिने उनको सुझाव छ।
