धनुषा प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि सञ्चालन गरेको विशेष अभियानमा एक साताको अवधिमा १२५ फरार प्रतिवादी पक्राउ गरेको छ। विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएका उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार असार २५ देखि साउन १ गतेसम्मको अवधिमा यो अभियान चलाइएको थियो। यस अवधिमा दैनिक औसतमा १८ जनाभन्दा बढी फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रवक्ता न्यौपानेले असार २५ गते १०, असार २६ गते २६, असार २८ गते २२, असार २९ गते २८, असार ३० गते १४, असार ३१ गते १४ र साउन १ गते ११ जना प्रतिवादी पक्राउ परेको जानकारी दिए। पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको छ।
धनुषा प्रहरीले अदालतको फैसलालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न फरार प्रतिवादीहरूको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।
