धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न दिएको निर्देशनपछि स्थानीयवासीले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।
क्षीरेश्वरनाथ नगरपालिकाले गत सोमबार नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार एक सूचना जारी गरेको थियो। उक्त सूचनामा नगरपालिका क्षेत्रभित्रका वडा नं १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न आग्रह गरिएको छ। नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनीसमेत दिएको छ।
यही सूचनाको विरोधमा प्रभावित स्थानीयवासी शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए। सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले पुष्टि गरेका छन्। स्थानीयवासीले आफूहरूलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलन थालेका हुन्।
राष्ट्रिय अभियानको हिस्सा: काठमाडौंमा डोजर, धनुषामा सूचना
धनुषाको यो घटना सरकारले देशभर चलाएको सार्वजनिक जग्गा खाली गर्ने अभियानको एक हिस्सा हो। केही समयअघि काठमाडौंका विभिन्न स्थानमा अनधिकृत बस्तीमा डोजर चलाइएको थियो। अहिले देशका विभिन्न भागमा सार्वजनिक जग्गा खाली गर्न सूचनाहरू जारी भइरहेका छन्।
आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीयवासीको भनाइ छ।
