NM Khabar 5 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लागूऔषध नियन्त्रणमा कोशी प्रदेश अगाडि, ३ महिनामा ३ हजार बढी पक्राउ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशभर लागूऔषध कारोबारमा संलग्न ३ हजार ३ सय १६ जना पक्राउ परेका छन्। कोशी प्रदेशमा सबैभन्दा बढी ७ सय १३ जना पक्राउ परेका छन्, जसको मुख्य कारण खुला सीमा र सक्रिय प्रहरी निगरानी बताइएको छ। प्रहरीले ठूलो परिमाणमा गाँजा, कोकिन, हेरोइन लगायतका लागूऔषध बरामद गरेको छ।
Kamala Devi
Kamala Devi
5 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
लागूऔषध नियन्त्रण
Share:

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशभर लागूऔषध कारोबारविरुद्धको अभियानमा ३ हजार ३ सय १६ जना पक्राउ परेका छन्। वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा भएको कारबाहीमा कोशी प्रदेश सबैभन्दा अगाडि देखिएको छ।

प्रहरी मुख्यालयका अनुसार कोशी प्रदेशबाट ७ सय १३ जना पक्राउ परेका छन्। लुम्बिनी प्रदेश र काठमाडौं उपत्यकाबाट समान ५ सय ११÷५ सय ११ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७, बागमती प्रदेशबाट ४ सय २८, मधेश प्रदेशबाट २ सय ५५, गण्डकी प्रदेशबाट १ सय ८९, लागूऔषध नियन्त्रण ब्युरोबाट १ सय ३१ तथा कर्णाली प्रदेशबाट १ सय २१ जनालाई नियन्त्रणमा लिइएको छ।

कारबाहीका क्रममा प्रहरीले ८ हजार ६ सय ३२ किलोभन्दा बढी गाँजा, ३१ किलोभन्दा बढी चरेस, करिब ६ किलो कोकिन, झन्डै १२ किलो हेरोइन, १ सय २७ किलोभन्दा बढी अफिम र २१ किलोभन्दा बढी पोलेन बरामद गरेको छ। ९ लाख ७६ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेट, १९ हजारभन्दा बढी नाइट्राभेट, ३३ हजारभन्दा बढी स्पास्मो ट्याब्लेट, ९ हजार ५ सयभन्दा बढी डाईजेपाम, १६ हजार ६ सयभन्दा बढी फेनारगन तथा ८ हजारभन्दा बढी बुप्रेनोर्फिन एम्पुलसमेत जफत गरिएको छ।

नेपाल प्रहरीले लागूऔषध उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर देशभर विशेष अभियान सञ्चालन गरिरहेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय, टोल तथा स्थानीय तहसँग सहकार्य गर्दै लागूऔषधको दुष्प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

कोशी प्रदेशमा सबैभन्दा बढी पक्राउ पर्नुको कारण खुला सीमा, भारतीय बजारसँगको सहज पहुँच, गाँजा उत्पादन हुने भौगोलिक क्षेत्र र सक्रिय प्रहरी निगरानी रहेको प्रदेश प्रहरी कार्यालयको विश्लेषण छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र सिंह थापाका अनुसार झापा र मोरङ भारतीय सीमासँग जोडिएकाले लागूऔषधको आवतजावत बढी हुने गरेको छ। धनकुटा, उदयपुरलगायत पहाडी जिल्लामा गाँजाको अवैध खेती हुने गरेको र त्यसको तस्करी भारततर्फ हुने गरेको उनले बताए।

थापाले सानो परिमाणमा लागूऔषध लुकाएर सीमा पार गरिने भएकाले पहिचान चुनौतीपूर्ण हुने बताए। प्रदेशको जनसंख्या ठूलो भएकाले उपभोक्ता र कारोबारी दुवैको संख्या तुलनात्मकरूपमा बढी देखिने र प्रहरीको निरन्तर निगरानी तथा सूचनामा आधारित कारबाहीका कारण पक्राउ संख्या बढेको उनले स्पष्ट पारे।

नेपालका २७ जिल्ला भारतसँग सीमा जोडिएका छन्। खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनेको छ। कोशी प्रदेशको भौगोलिक विस्तार र सीमावर्ती अवस्थाले पनि लागूऔषध नियन्त्रणमा जटिलता थपेको छ।

लुम्बिनी प्रदेश प्रहरीले पक्राउको संख्या बढ्नु अपराध बढेको संकेत नभई नियन्त्रणका लागि अपनाइएको आक्रामक रणनीतिको परिणाम भएको दाबी गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शारदाप्रसाद चौधरीका अनुसार प्रदेशभर विशेष निगरानी अभियान सञ्चालन गरिएको छ। सीमावर्ती नाकामा कडाइ, गोप्य सूचनाका आधारमा छापा, सादा पोसाकमा प्रहरी परिचालन र जोखिमयुक्त क्षेत्रको पहिचान गरी निगरानी बढाइएको उनले बताए।

तुलसीपुरलगायत स्थानमा टोलस्तरमा सचेतनामूलक समूह गठन गरी समुदायलाई शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन प्रोत्साहित गरिएको छ। विद्यालय सम्पर्क कार्यक्रममार्फत विद्यार्थीमा सचेतना फैलाउने, खेती हुन सक्ने क्षेत्रमा अनुगमन गर्ने तथा भारतबाट हुने आपूर्ति र खपत हुने स्थानमा विशेष निगरानी बढाउने काम भइरहेको उनले जानकारी दिए।

प्रहरीले लागूऔषध नियन्त्रणका लागि सीमापार समन्वय, स्थानीय समुदायको सहभागिता र सूचनामा आधारित कारबाहीलाई अझ प्रभावकारी बनाउने रणनीतिमा जोड दिएको छ। सुरक्षा अधिकारीहरूका अनुसार खुला सीमाको दुरुपयोग रोक्न र नयाँ पुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन कानुनी कारबाहीसँगै जनचेतना अभियानलाई समान प्राथमिकता दिइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार