मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

आर्थिक सर्वेक्षण: सेयर कारोबार रकम एक तिहाइ घट्यो, नेप्से २८२० अंकमा

चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा कारोबार रकम झण्डै एक तिहाइले घटेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, नेप्से परिसूचक २८२०.४५ विन्दु र बजार पुँजीकरण रु ४७ खर्ब ४४ अर्ब पुगेको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९३

चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले यस्तो देखाएको हो।

सर्वेक्षण अनुसार, फागुनसम्म धितोपत्र दोस्रो बजारमा रु १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ। गत वर्षको सोही अवधिमा यो रकम रु १४ खर्ब ६५ अर्ब ६६ करोड थियो। औसत दैनिक कारोबार रकम पनि रु नौ अर्ब ८३ करोडबाट घटेर रु सात अर्ब ४५ करोडमा झरेको छ। कारोबार भएका धितोपत्रको सङ्ख्या २७.२ प्रतिशत र कारोबार सङ्ख्या २९.८ प्रतिशतले घटेको छ।

यद्यपि, नेप्से परिसूचक र बजार पुँजीकरण भने अघिल्लो वर्षको तुलनामा सकारात्मक देखिएको छ। फागुन मसान्तसम्म नेप्से परिसूचक २८२०.४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६.४९ विन्दु भन्दा बढी हो। कूल बजार पुँजीकरण ४.४२ प्रतिशतले वृद्धि भई रु ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको छ।

डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको २६.२ प्रतिशत हो। मेरो शेयर खाताको संख्या ६६ लाख १३ हजार पुगेको छ।

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या बढेको छ। फागुनसम्म अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको सङ्ख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ। गत वर्ष सोही अवधिमा यो सङ्ख्या २५ लाख ४९ हजार ६९६ थियो।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार