सरकारले पहिलोपटक घरायसी विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। साउन १ गतेदेखि कार्यान्वयनमा आएको यो नयाँ कर नीतिले करिब २६ लाख ग्राहकलाई प्रभावित पार्नेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमार्फत यो करको घोषणा गरेका थिए। अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ। औद्योगिक र व्यावसायिक ग्राहकका लागि भने १३ प्रतिशत भ्याट अनिवार्य गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार, कर प्रणालीलाई सहज कार्यान्वयन गर्न प्राधिकरणले आफ्नो आन्तरिक प्रविधि र सफ्टवेयर प्रणाली परिमार्जन गरेको छ। “साउन १ गतेबाटै जारी हुने बिलमा भ्याट स्वतः गणना हुने गरी सफ्टवेयर तयार भएको छ,” श्रेष्ठले भने, “यसका लागि प्राधिकरण भ्याटमा दर्ता भएको छ।”
प्राधिकरणले साउनको बिलिङमा ग्राहकको खपत अनुसार नयाँ दर लागू गर्नेछ। घरायसी ग्राहकमा ५ प्रतिशत र औद्योगिक तथा व्यावसायिकमा १३ प्रतिशत भ्याट लाग्नेछ।
प्राधिकरणको तथ्यांक विश्लेषण गर्दा न्यून आय भएका र थोरै ऊर्जा खपत गर्ने विपन्न तथा निम्न–मध्यम वर्गलाई सरकारले राहत दिएको छ। कुल ५६ लाख ४० हजार घरायसी ग्राहकमध्ये ५३.७९ प्रतिशत अर्थात् ३० लाख ३४ हजार ग्राहक ५० युनिटसम्म विद्युत् खपत गर्ने भएकाले भ्याटको दायराभन्दा बाहिर रहनेछन्।
२० युनिटसम्म खपत गर्ने १९ लाख ९८ हजार ग्राहक (३५.४३ प्रतिशत) करमुक्त हुनेछन्। २१ देखि ३० युनिटसम्म खपत गर्ने चार लाख २१ हजार (७.४६ प्रतिशत) र ३१ देखि ५० युनिटसम्म खपत गर्ने छ लाख १५ हजार (१०.९० प्रतिशत) ग्राहक पनि करको दायरा बाहिर रहनेछन्। उनीहरूले पहिलेकै दरमा महसुल बुझाउनेछन्।
तर, विद्युतीय चुल्हो, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर जस्ता उपकरण प्रयोग गर्ने मध्यम र उच्च घरायसी वर्गका २६ लाख ६ हजार ग्राहक (४६.२१ प्रतिशत) भने साउन १ गतेदेखि भ्याटको दायरामा आउनेछन्। यसले उनीहरूको मासिक घरायसी बजेटमा केही आर्थिक दायित्व थपिनेछ।
यसमा ५१ देखि १०० युनिटसम्म खपत गर्ने १० लाख ७५ हजार ग्राहक, १०१ देखि २५० युनिटसम्म खपत गर्ने १० लाख ८९ हजार ग्राहक र २५० युनिटभन्दा बढी खपत गर्ने चार लाख ४२ हजार ग्राहक पर्छन्।
धेरैमा ५० युनिट बित्नेबित्तिकै पूरै बिलमा भ्याट लाग्ने दुविधा थियो। तर, प्राधिकरणको नयाँ नियमानुसार ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताको हकमा पनि पहिलो ५० युनिटसम्मको महसुलमा भ्याट लाग्नेछैन। “५० युनिटभन्दा माथि जति अतिरिक्त युनिट खपत हुन्छ, त्यसमा मात्र ५ प्रतिशत भ्याट गणना गरिनेछ,” कामु कार्यकारी निर्देशक श्रेष्ठले स्पष्ट पारे।
उदाहरणका लागि, १०० युनिट बिजुली खपत गर्ने ग्राहकको भ्याटबाहेकको कुल आधारभूत महसुल ८३५ रुपैयाँ हुन्छ। नयाँ नियमानुसार पहिलो ५० युनिटको ३६० रुपैयाँमा भ्याट लाग्दैन। ५१ देखि १०० युनिटसम्मको अतिरिक्त ५० युनिटको महसुल ४७५ रुपैयाँमा मात्र ५ प्रतिशत भ्याट (२३ रुपैयाँ ७५ पैसा) लाग्नेछ। जम्मा बिल ८५८ रुपैयाँ ७५ पैसा हुनेछ।
घरायसी ग्राहकलाई ५ प्रतिशतको सहुलियत दर तोकिए पनि औद्योगिक, व्यावसायिक तथा अन्य गैर–घरायसी ग्राहकका लागि भने १३ प्रतिशत भ्याट लागू हुनेछ।
