सर्लाहीका फरार प्रतिवादी अशोक कुमार यादवलाई प्रहरीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ। उनीमाथि ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूलाई कुटपिट गरी घाइते बनाएको र नेपाल प्रहरीको मोटरसाइकल तोडफोड गरेको अभियोग छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा ५० वर्षीय यादवलाई भदौ २३ गते धापाखेलबाट पक्राउ गरेको हो। यादव कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादी हुन्।
पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट कुटपिट अङ्गभङ्ग कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
गत जेठ २५ गते कविलासी नगरपालिका वडा नं. ८ अगर्वामा ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूलाई यादव र उनका साथीहरूले कुटपिट गरी घाइते बनाएका थिए। उनीहरूले नेपाल प्रहरीको मोटरसाइकल समेत तोडफोड गरी फरार भएका थिए। यस सम्बन्धमा आपराधिक उपद्रव कसूरमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ।
यसअघि पनि यादवमाथि राज्य विरुद्धको कसूर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति विरुद्धको कसूर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव लगायतका ११ वटा कसूरमा अनुसन्धान भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
