अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकसँग छलफल गर्दैछन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९:१५ बजे सुरु हुने छलफल देशको वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ।
अर्थमन्त्रीको सचिवालयका अनुसार, यो छलफल देशको अर्थतन्त्रको गहिराइ बुझेका अधिकारीहरूसँग समस्या पहिल्याउन र समाधान खोज्न आयोजना गरिएको हो। केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित भेट हुने गरे पनि कार्यकारी निर्देशकसँगको मन्त्रीस्तरीय छलफल सम्भवतः पहिलोपटक हो।
अर्थमन्त्री वाग्लेले साउन १२ गते उद्योगी र मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए। ती छलफलमा उद्योगी र बैंकरहरूले मौद्रिक नीतिबारे विषय उठाएका थिए। उक्त छलफलमा राष्ट्र बैंकको प्रतिनिधित्व थिएन।
