त्रिशूली नदीको बाढीले नागढुंगा–मुग्लिन सडक खण्डको कृष्णभिरमा सडक भास्दा काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तु आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। यो मार्ग ठप्प हुँदा मालवाहक गाडी ठप्प छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित कृष्णभिरमा सडक कटानले यातायात ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको छ। यसले खाद्यान्न, दाल, तरकारी, फलफूल, पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढाएको छ।
काठमाडौंका बालाजु, माछापोखरी, सामाखुसीलगायत क्षेत्रका पसलहरूमा खाद्यान्न खरिद गर्नेहरूको भीड छ। टोखा रोड गोंगबुस्थित महर्जन खाद्य स्टोरका सञ्चालक दिनेश महर्जनले चिनी, चामल, चिउरा, खाने तेलको मूल्य बढेको बताए। महर्जनका अनुसार प्रतिकेजी ४० रुपैयाँले चिनीको मूल्य बढेको छ।
तारकेश्वर–५ लोलाङका जेनिक स्टोर सञ्चालक ज्योतिकृष्ण बानियाँले बजारमा चिनी अभाव छ। चामल, चिनी र गेडागुडीमा ३० देखि ५० प्रतिशत मूल्यवृद्धि भएको छ। बानियाँका अनुसार एक साताअघि सय रुपैयाँमा पाइने चिनी अहिले १४० रुपैयाँ पुगेको छ।
उनका अनुसार २५ केजी गुडलक चामल १९ सयबाट बढेर २५ सय रुपैयाँ पुगेको छ। सनफ्लावर तेल प्रतिलिटर २ सय ४५ बाट ३०० रुपैयाँ नाघेको छ। तोरीको तेल ३४० बाट ३७५ रुपैयाँ पुगेको छ।
माछापोखरीस्थित श्रेष्ठ सप्लायर्सका सञ्चालक सञ्जीव श्रेष्ठले बाढीले मुख्य राजमार्ग ठप्प हुँदा वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा समय र ढुवानी खर्च बढेको बताए। यसले उपभोग्य पदार्थको मूल्य बढाएको छ।
कुलेश्वरस्थित अग्रवाल खाद्य स्टोरका महेन्द्र अग्रवालले राजमार्ग अवरुद्ध हुँदा लामो बाटोबाट ढुवानी गर्दा मूल्य बढ्नु स्वाभाविक भएको बताए। खाद्यान्नभन्दा मौसमी तरकारीको मूल्य धेरै बढेको उनको भनाइ छ।
कालीमाटी बजारमा शनिबार सात लाख ९५ हजार किलो तरकारी, फलफूल र माछा भित्रिएकोमा आइतबार एक लाख ५१ हजार किलो मात्र आएको छ। यो कालीमाटी तरकारी बजार व्यवस्थापन समितिको तथ्यांक हो।
रसुवाको भोटेकोसी–त्रिशूली नदीको बाढीले काठमाडौंमा खाद्यान्नको तत्कालै अभाव नहुने व्यवसायीहरूले बताएका छन्। चामलको मौज्दात दुई–तीन महिना पुग्ने र अन्य खाद्यान्न एक महिनासम्म पुग्ने उनीहरूको भनाइ छ।
नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले काठमाडौंका गोदाममा तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको बताए।
कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा पेट्रोलियम पदार्थ र ग्यास ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले सतर्कता अपनाएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले मकवानपुर (हेटौंडा) को वैकल्पिक बाटो प्रयोग गरी इन्धन ल्याउने जानकारी दिए।
सरकारले विपद्को मौका छोपी कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको छ। अनियमितता भएमा ११३६ नम्बरमा उजुरी गर्न सकिनेछ।
सडक विभागले कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार प्राविधिक टोलीले सूक्ष्म अध्ययन गरिरहेको छ।
