भोटेकोशी बाढीपीडितलाई १३ दिनमा पौने ११ अर्ब सहयोग, १ अर्बभन्दा बढी निकासा
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि १३ दिनको अवधिमा १० अर्ब ७८ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यो रकम जम्मा भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार, मंगलबार साँझ ५ बजेसम्म कोषका ९ वटा खातामा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ। यसबाहेक ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर पनि प्राप्त भएको छ।
बाढीपीडितको राहतका लागि गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। गोल्छा परिवारको परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’ मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो।
सोमबार हस्तान्तरण गरिएको यो सहयोग रकम प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको लागि नेपाल सरकारद्वारा सञ्चालित आपत्कालीन खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा उपयोग हुनेछ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढीपीडितको तत्काल राहतका लागि १ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा भएको छ। यो रकम बाढीबाट घरबारविहीन भएका परिवारलाई खाद्यान्न, आश्रय र स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गरिनेछ।
