जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको क्रूर हत्याको विरोधमा बिहीबार बारा र पर्साका विभिन्न सहरहरू दिनभर अशान्त बने। देशकै प्रमुख व्यापारिक ‘लाइफलाइन’ मानिने वीरगञ्ज-पथलैया सडकखण्ड बिहीबार दोस्रो दिन पनि पूर्ण रूपमा ठप्प रह्यो।
सडक खुलाउन जिल्ला प्रशासन कार्यालय बाराले दिनभर वार्ताको प्रयास गर्यो। तर, आन्दोलनरत पक्ष र प्रशासनबीच कुनै सहमति जुट्न सकेन। पीडित परिवार, आफन्त र स्थानीय बासिन्दा न्यायको माग गर्दै सडकमा ओर्लिए। प्रदर्शनकारीले जीतपुरसिमराका मुख्य चोक र ग्रामीण सडकमा टायर बालेर यातायात अवरुद्ध पारे।
प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरी नाराबाजी गरे। प्रहरी कार्यालय घेराउका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल र तनाव सिर्जना भयो। प्रदर्शनकारीले प्रारम्भिक अनुसन्धानमा लापरबाहीको आरोपमा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीमाथि कारबाहीको माग गरे। पक्राउ परेका अभियुक्तलाई फाँसी सरहको कारबाही हुनुपर्ने उनीहरूको अडान छ।
सिमरामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सुरक्षाकर्मीले संयमता अपनाएर ठूलो झडप हुन दिएका छैनन्।
मृतक बालिका गरिमा गत आइतबार घरआँगनमै खेल्ने क्रममा बेपत्ता भएकी थिइन्। परिवारले तत्कालै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको थियो। प्रहरीले समयमै खोजीकार्यमा तदारुकता नदेखाएको परिवारको आरोप छ। ‘प्रहरी प्रशासनले सुरुमै गम्भीरता देखाएन,’ मृतक बालिकाका बुवा मनोज चौधरीले भने, ‘पहिलो दिनमै सक्रियता देखाएको भए आज छोरी जीवितै हुन्थी।’
बेपत्ता भएको दुई दिनपछि मंगलबार साँझ घरभन्दा करिब दुई सय मिटर पर रहेको खाली घरभित्र बालिकाको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
तीन वर्षीया बालिकामाथि भएको पाशविक घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बिहीबार बन्द गरिए। शैक्षिक संस्थाहरूले दोषीमाथि राजनीतिक वा कानुनी दाउपेचबिना कडा कारबाहीको माग गरेका छन्।
गरिमाको न्यायको माग गर्दै सुरु भएको आन्दोलन सिमरामा मात्र सीमित रहेन। बिहीबार दिउँसोदेखि बाराको सदरमुकाम कलैया र पर्साको वीरगञ्जमा समेत नागरिक समाज र युवाहरूले स्वतःस्फूर्त प्रदर्शन सुरु गरेका छन्।
दुई दिनदेखि वीरगञ्ज-पथलैया व्यापारिक मार्ग बन्द हुँदा देशको आर्थिक गतिविधि प्रभावित भएको छ। वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाहबाट छुटेका हजारौँ मालवाहक ट्रक, कन्टेनर र ट्याङ्कर सडकमै अलपत्र परेका छन्। सडक अवरोधले यात्रुहरूले समेत सास्ती खेप्नुपरेको छ।
दिनभर सिमरामा वार्ताको वातावरण नबनेपछि साँझ जिल्ला सुरक्षा समितिको टोली आन्दोलनरत पक्षसँग संवाद गर्न पथलैया पुगेको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू सशस्त्र प्रहरी बलको तालिम शिक्षालय पुगेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पीडित पक्षका प्रतिनिधिहरूसँग छलफल गरी रातिसम्ममा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिए। ‘हामी पीडित परिवारका जायज मागहरू सम्बोधन गर्न र राजमार्ग खुलाउन प्रयासरत छौँ,’ उनले भने।
