म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।
विद्युत् गृहका कामदार ५५ वर्षीय दीपक बरुवाल बेपत्ता छन् । गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गर्यो ।
बेपत्ता बरुवालको खोजीमा प्रहरी, सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी खटिएका छन् । घाइते विकलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बेनी अस्पताल पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
विद्युत् गृहभन्दा माथिल्लो पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको थियो । पहिरोले १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको उपकरणमा क्षति पुर्याएको छ ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ । पहिरोले आयोजनाको उत्पादन बन्द भएको छ ।
