सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता पक्राउ परेका छन्। तीन दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको टोलीमाथि अवरोध र आक्रमण भएको थियो। सो घटनामा संलग्न भएको उजुरीका आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार वडाध्यक्ष गुप्ताविरुद्ध उजुरी परेपछि सोमबार साँझ उनलाई पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
