सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा सो टोली बनेको हो। टोलीका सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन्।
यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा महाअभियानका प्रतिनिधि र सरकारी पक्षबीच छलफल भएको थियो। सो छलफलमा महाअभियानको मागबमोजिम सरकारले औपचारिक वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने सहमति भएको थियो। सरकारको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि प्राप्त पत्रसमेत बुझेका छन्।
छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा सहभागी थिए। महाअभियानले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा विभिन्न माग पेस गरेको थियो। सोही मागमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न यो टोली गठन भएको हो।
