NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गोरखालीले ल्याब मागे, गृहमन्त्री गुरुङले भने– ‘भोट फिर्ता लैजानुस्’

गोरखाका मतदाताले चुनावका बेलाको ल्याब बजेटको वाचा पूरा गर्न माग गर्दा गृहमन्त्री सुधन गुरुङले 'चार महिनामै प्रतिफल खोज्न नहुने, बरु भोट फिर्ता लैजानुस्' भनेका छन्। गुरुङको यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएको छ।
Kamala Devi
Kamala Devi
17 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
सुधन गुरुङ भोट फिर्ता
Share:

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन्। तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका छन्।

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन्। हरेक महिना गृहजिल्ला जाने पूर्वघोषित कार्यक्रम अनुसार उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाट गरेका थिए।

आइतबार बेलुका गृहमन्त्री गुरुङ शहीद लखन गाउँपालिका वडा नम्बर ९ का मतदातासँगको भेटघाटमा थिए। सो भेटमा वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछाने लगायत पनि सहभागी थिए।

रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको गुरुङलाई सम्झाए। गुरुङले त्यसमा ‘हो’ भनेर सहमति पनि जनाए।

तर वाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरु भोट फिर्ता लैजान भनेका हुन्।

गृहमन्त्री गुरुङको यो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ।

कार्यक्रममा क्याप लगाएका एक व्यक्तिले ‘एउटा सानो कुरो’ भन्दै ल्याबको लागि बजेटबारे सोध्छन्। गृहमन्त्री गुरुङलाई चुनावी वाचा स्मरण गराउँदै उनी भन्छन्, ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै? हजुरले मन्त्रालयको सचिवलाईधरी फोन गर्नुभाथ्यो यहीँबाट। र, तपाईंहरू ढुक्क हुनुस् यो आउने बजेटमा म यहाँको अनुसार गर्दिन्छु भनेर बोलेर जानुभाथ्यो। खै त? त्यो बजेटमा कहीँ पनि देखिँदैन।’

अनि गृहमन्त्री गुरुङ ती प्रश्नकर्तालाई भन्छन्, ‘यति साना–साना बजेटहरू छ नि तपाईंको, यसरी किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन।’

उनी फेरि थप्छन्– ‘त्यही भएर हामीले यहाँबाट लिस्ट मगाएका छौं। के राख्ने भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि।’

अनि ती व्यक्तिले गृहमन्त्री सुधन गुरुङको छेउमा बसेका व्यक्तिलाई ‘तिमीले पठाएनौं लिस्ट?’ भनी प्रश्न गर्छन्। उनले ‘पठाएको’ जानकारी पनि गराउँछन्। त्यसपछि छेउका अर्का एक व्यक्तिले ‘हिजो भर्खर’ मन्त्रालयका सचिवसँग यी विषयमा कुरा भएको भन्दै प्रश्नकर्तालाई सम्झाउने कोसिस गर्छन्।

प्रश्नकर्ता व्यक्ति अझै आश्वस्त हुँदैनन्। उनी स्थानीयको दबाब गृहमन्त्रीलाई सुनाउँछन्, ‘यहाँ गाउँका मान्छेले मार्ने भइसके त! हिजो बोलेर गाको हो सुधन गुरुङले, अहिले खै भन्छन्।’

अनि गृहमन्त्री सुधन भन्छन्– ‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ। …तपाईंलाई काम भए पुग्ने होइन त? चार महिनामा त फेरि कायापलट गर्न म सक्दैन, भोट लिएर जानुस्।’

गृहमन्त्रीको यो अभिव्यक्तिपछि सहभागीहरू हाँसेको देखिन्छ। अनि एक व्यक्ति भन्छन्– ‘जिताएर पठाइहालियो, यो कुरा पहिले भन्नुपर्थ्यो नि हजुरले।’

गृहमन्त्री सुधन फेरि भन्छन्, ‘हैन मैले त भनेको। मत प्रष्ट मान्छे। मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुँदैन भने मलाई नजिताउनुस्। मलाई पाँच वर्ष हेर्नुस्। यति त आँट गरेको हो नि त।’

गृहमन्त्री गुरुङ फेरि थप्छन्, ‘चार महिनामा बल्ल १५ दिन/२० दिन भइराछ। अहिले चाहियो भन्दैमा पाइन्छ?’

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार