जनकपुरधामका १५ पोखरी र तिनका डिलमा माफियाले अतिक्रमण गरेका संरचना गुठी संस्थानले सात दिनभित्र हटाउन सूचना जारी गरेको छ। पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण डोजर प्रयोग गरी हटाइएको थियो।
दोस्रो चरणमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डमाथिको अतिक्रमण हटाउने तयारी छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको २०६२ को प्रतिवेदन कार्यान्वयन समितिको निर्णयअनुसार यो सूचना जारी गरिएको हो। निर्धारित समयभित्र अतिक्रमित संरचना नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने संस्थानले चेतावनी दिएको छ।
