NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

४० डिग्री सेल्सियस पुग्ने तापक्रम: लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको चेतावनी

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तातो हावाको लहर (लु) आउने विशेष बुलेटिन जारी गरेको छ। आगामी तीन दिन यी प्रदेशका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। विभागले सर्वसाधारणलाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Sanjay Karki
Sanjay Karki
23 May 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
Share:

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्ने विशेष बुलेटिन जारी गरेको छ। विभागले तातो हावा तथा तातो लहर (लु) बाट बच्न आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको हो।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा मध्यम तातो लहर आउनेछ। पहाडी भू-भागमा तातो दिनको सम्भावना छ। यही जेठ ६ गतेदेखि नै यी क्षेत्रमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। केही स्थानमा ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ।

विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा सतर्कता अपनाउन भनेको छ। बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुलाई अद्यावधिक रहन निर्देशन दिएको छ।

तातो हावा तथा लहरले थकाइ, कमजोरी, तिर्खा, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुनेजस्ता असर गर्न सक्ने विभागले जनाएको छ।

गर्मीबाट बच्न घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा ननिस्कन, हल्का सुतीका कपडा लगाउन र टाउको छोप्न सुझाव दिइएको छ। नियमित पानी तथा झोल पदार्थ पिउन र स्वास्थ्य समस्या भए स्वास्थ्यकर्मीको सल्लाह लिन अनुरोध गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार