तराईका केही जिल्लामा आगामी दुई दिन (साउन १७-१८) ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भेगका साथै मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा बाढीपहिरो र गेग्य्रान बहावको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले जारी गरेको सूचनामा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना औंल्याएको छ। यसबाट जोगिन पछिल्लो मौसम सूचना अद्यावधिक गर्न अनुरोध गरिएको छ।
आइतबार (साउन १७) कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुनेछ। कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
सोमबार (साउन १८) वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भेगका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। वाग्मती, गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।
मंगलबार (साउन १९) पनि कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक आइपुगेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार यसले वर्षाको गतिविधि बढाएको हो। उनले दिउँसो पानी रोकिए पनि बेलुका देशभर राम्रै वर्षा हुने बताएका छन्। यद्यपि, तराईका सबै भूभागमा भने वर्षा नहुन सक्ने उनको भनाइ छ।
