बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले असोज ९ गतेदेखि नेपालमा भारी वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना देखिएपछि गृहमन्त्री सुदन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभागको स्थलगत निरीक्षण गरेका छन्।
बबरमहलस्थित विभागको कार्यालयमा पुगेर उनीहरुले विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतका मौसमविद्सँग भेटघाट गरी सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन्।
मौसमविदहरूले हाल बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली भई ‘डिप डिप्रेसन’मा परिणत भएको जानकारी दिए। यसको प्रभावले नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान छ। यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने भएकाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बुधबारदेखि वर्षाको गतिविधि बढ्नेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना छ। यसले डुबान, कटान र पहिरोको जोखिम निम्त्याउन सक्नेछ। जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न आग्रह गरिएको छ।
प्रवक्ता पोखरेलका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही अध्यावधिक जानकारी र सूचना आदानप्रदान भइरहेको छ।
मौसम विभागले विशेष बुलेटिन जारी गरेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरी उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ। प्राधिकरणले अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आम सर्वसाधारणलाई सुसूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनिएको छ।
