काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका मुख्य राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
शनिबार बिहान ६:३० बजेसम्मको प्रहरी विवरणअनुसार, काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्ड बाढीले पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकखण्ड पनि बाढीले अवरुद्ध पारेको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ घट्टेखोलामा बाढी तथा पहिरोले टोखा–छहरे सडकखण्ड पूर्ण रूपमा बन्द गराएको छ। वेत्रावती नगरपालिका–१० सिमटारमा बाढी तथा पहिरोका कारण पासाङल्हामु सडकखण्ड प्रभावित छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि साना गाडीका लागि एक लेन सञ्चालनमा ल्याइएको छ। गजुरी गाउँपालिका–२ परेवाभीरमा पनि पहिरोले पृथ्वी राजमार्ग प्रभावित छ। बेनीघाट रोराङ–१० ज्वाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडक पनि अवरुद्ध छ। प्रहरीका अनुसार, सडकको अवस्था हेरेर सीमित भारका मालवाहक तथा साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न दिइएको छ।
