मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

हुम्लाको मुस्याँडा खोलामा स्थानीयको श्रमदान: तीन दिनमै बन्यो काठे पुल

हुम्लाको चङ्खेली गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिको बेवास्तापछि श्रमदान गरी मुस्याँडा खोलामा तीन दिनमै काठे पुल निर्माण गरेका छन्। यसले चीनसँग जोडिएको टाँकेनाका व्यापारिक नाकासम्मको पहुँच र दैनिक आवतजावत सहज बनाएको छ।
Maya Thapa
१ मिनेट पढाइ
आकार:
मुस्याँडा खोला काठे पुल
Share:
२१४

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकको मुस्याँडा खोलामा स्थानीयवासीले तीन दिनको श्रमदानबाट काठे पुल निर्माण गरेका छन्। जनप्रतिनिधिको बेवास्ता र पटकपटकको झोलुङ्गे पुलको माग सुनुवाइ नभएपछि गाउँलेले आफैं जुटेर यो पुल बनाएका हुन्।

स्थानीय जसबहादुर तामाङका अनुसार पुल निर्माणपछि शनिबारदेखि स्थानीयले सजिलै आवतजावत गर्न थालेका छन्। यसअघि पुल नहुँदा ज्यान जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता थियो। चीनसँग जोडिएको व्यापारिक नाका टाँकेनाकासम्म पुग्न र आवश्यक सामग्री ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको थियो। ‘टाँकेनाका नेपाल–चीन व्यापारिक नाका हो। पुल नहुँदा त्यहाँसम्म पुग्न निकै समस्या थियो,’ तामाङले भने।

उनले गाउँपालिकालाई झोलुङ्गे पुल निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि कुनै पहल नभएको गुनासो गरे। वनजङ्गल, घाँसदाउरा र पशुचौपाय चरन क्षेत्र खोलापारि भएकाले पुल अभावले दैनिक जीवन प्रभावित हुँदै आएको थियो।

फलामे वा पक्की पुलको अपेक्षा वर्षौंदेखि गरे पनि सम्बन्धित निकायबाट आवश्यक पहल नहुँदा स्थानीय आफैं श्रमदानमा जुटेका हुन्। पुल निर्माणका क्रममा गाउँलेले काठ बोक्ने, डोरी तान्ने र अन्य आवश्यक काममा श्रमदान गरेका थिए। विकासका आश्वासन धेरै सुने पनि बजेट सुनिश्चित नभएपछि स्थानीयको एकता र सक्रियताले काठे पुल निर्माण सम्भव भएको उनीहरूको भनाइ छ।

स्थानीयवासीले दीर्घकालीन समाधानका लागि मुस्याँडा खोलामा झोलुङ्गे वा पक्की पुल निर्माण गर्न सम्बन्धित निकायसँग पुनः माग गरेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार