काठमाडौंमा पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको भोलिपल्टै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कुनै बाधा पर्न नदिने प्रतिबद्धता जनाउँदै विपद् व्यवस्थापनमा सञ्चार जगत्सँग ‘अभूतपूर्व सहकार्य’ को अपिल गरेका छन्। आईजीपी कार्कीले सम्भावित प्राकृतिक विपद्को समयमा नागरिकलाई सही सूचना सम्प्रेषण गर्न पत्रकारहरूको साथ मागेका छन्।
राजधानीमा पत्रकारहरूमाथि भएको धरपकडले सञ्चार जगत् र नागरिक समाजमा प्रहरी प्रशासनको आलोचना भइरहेका बेला आईजीपी कार्कीको यो सन्देश सार्वजनिक भएको हो। पत्रकार पक्राउ प्रकरणले मिडिया र प्रहरीबीचको सम्बन्धमा चिसोपन ल्याउन सक्ने जोखिम बढिरहेको अवस्थामा प्रहरी नेतृत्वले सञ्चारकर्मीको ‘साहसिक रिपोर्टिङ’ को अपेक्षा राखेको छ।
आईजीपी कार्कीले आफ्नो सन्देशमा भनेका छन्, “सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।” उनले विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा प्रहरी दत्तचित्त रहेको बताउँदै सङ्कटको समयमा नागरिकलाई सही सूचना दिन सञ्चारकर्मीको भूमिकालाई उच्च महत्त्व दिएका छन्।
प्रहरीले वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने परिस्थिति एवं विपद्को जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यमको साथ खोजेको हो। विपद्का बेला अफवाह फैलिने र सूचना अभावमा उद्धार तथा राहतमा कठिनाइ हुने विगतको अनुभवलाई मध्यनजर गर्दै प्रहरीले पूर्वतयारी स्वरूप यो अपिल गरेको जनाएको छ।
आईजीपी कार्कीले नागरिक र सञ्चारकर्मी दुवैलाई सम्बोधन गर्दै सञ्चारकर्मीबाट ‘निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङ’ को अपेक्षा गरेका छन्। प्रहरीले आफ्नो मूल दायित्व पूरा गर्न नागरिकबाट पनि निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेको छ।
