भारत सरकारको ५६.०२ करोड रुपैयाँ अनुदान सहयोगमा ८ जिल्लामा १४ वटा विद्यालय निर्माण हुने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले ठेकेदारहरुसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।
गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका विद्यालयहरु भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रम अन्तर्गत बन्नेछन्।
नयाँ विद्यालयहरु नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन्। शैक्षिक भवन, फर्निचर सहितका कक्षाकोठाहरु तथा छात्र एवम् छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचनाहरु रहनेछन्।
यसअघि भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत ८ जिल्लाका ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। भारतीय राजदूतावासले भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुमा निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको जनाएको छ।
