जनकपुरधामको प्रादेशिक अस्पतालमा भेन्टिलेटरको अभावमा एक सर्पदंशका युवकको ज्यान गएको छ। अस्पतालमा समयमै सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर नपाउँदा २५ वर्षीय महेश यादवको अकालमा मृत्यु भएको हो। यस घटनाले मधेश प्रदेश सरकारको स्वास्थ्य सेवा प्रणालीको चरम लाचारी र बेथितिलाई फेरि एकपटक उजागर गरेको छ।
मंगलबार राति करिब १२:३० बजे विषालु सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियाका रामकिशोर यादवका छोरा महेश आफैँ अस्पताल पुगेका थिए। अस्पतालमा प्रारम्भिक उपचार सुरु भए पनि राति २ बजेसम्म उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। चिकित्सकहरूले तत्काल आईसीयू वा भेन्टिलेटर सपोर्ट आवश्यक रहेको बताए।
तर, अस्पतालमा आईसीयू र भेन्टिलेटरका शय्या खाली नभएको भन्दै चिकित्सकहरूले उनलाई अन्यत्र रेफर गरेका थिए। थप उपचारका लागि सर्पदंश उपचार केन्द्र लगिए पनि त्यहाँ पुग्नेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। अस्पतालमै समयमै भेन्टिलेटर उपलब्ध भएको भए ज्यान जोगिन सक्ने भन्दै मृतकका आफन्त र स्थानीयवासीले अस्पताल प्रशासन र प्रदेश सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
मधेश प्रदेशकै ठूलो मानिने जनकपुर प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटरको अभाव पटक-पटक आवाज उठ्दै आएको छ। तर, सरकार र प्रशासनले यस्ता आधारभूत जीवनरक्षक पूर्वाधारको व्यवस्थापनमा ध्यान नदिँदा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै आलोचना सुरु भएको छ।
प्रदेश सरकारका मन्त्रीहरू स्वास्थ्य सुधारका ठूला भाषणमा व्यस्त रहे पनि आम सर्वसाधारणले भने अस्पतालको ढोकामा पुगेर शय्या अभावकै कारण ज्यान गुमाउनु परिरहेको छ। अस्पताल व्यवस्थापन, बजेट विनियोजन र जनशक्ति परिचालनमा देखिएको चरम लापरबाहीका कारण यस्ता संवेदनशील घटना दोहोरिएको भन्दै स्थानीयले यसलाई ‘व्यवस्थागत हत्या’को संज्ञा दिएका छन्।
आफैँ हिँडेर अस्पताल पुगेका एक युवाको उपचार अभावमा भएको यो दुःखद निधनले प्रदेश सरकार र अस्पताल प्रशासनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न खडा गरेको छ। नागरिक स्तरबाट घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र अस्पतालको आपत्कालीन सेवा तत्काल चुस्त बनाउन माग गरिएको छ।
