जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को सडकमा रहेको खुला ढल (सिभर) मा आइतबार एक हाइस फसेकोमा सोमबार फेरि एक निजी कार फसेको छ। लामो समयदेखि खुला छाडिएको ढलमा दैनिकजसो सवारीसाधन फस्न थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
सडकको बीचमा कुनै संकेत वा घेराबिना खुला छाडिएको गहिरो ढलका कारण चालकहरू झुक्किएर दुर्घटनामा पर्ने गरेका छन्। सोमबार फसेको कार निकाल्न स्थानीयले निकै सास्ती भोगेका थिए।
दुर्घटनास्थलमा रहेका एक स्थानीयले आक्रोश पोख्दै भने, ‘हिजो मात्रै एउटा गाडी फसेर बल्लबल्ल निकालियो, आज फेरि अर्को कार फस्यो। यो बाटो हिँड्ने जो कोही पनि दुर्घटनामा पर्न सक्छ। रातिको समयमा त यो मृत्युको पासो नै हो।’
दिनहुँ आँखै अगाडि नागरिकको लाखौँको सम्पत्ति क्षति हुँदा र मानवीय दुर्घटनाको जोखिम बढ्दा पनि सम्बन्धित निकाय मुकदर्शक बनेको स्थानीयको गुनासो छ।
दुर्घटनाको यो शृंखला बढ्दै जाँदा स्थानीय बासिन्दाको आक्रोश वडाध्यक्ष पण्डित सुरेश झा र जनकपुरका मेयरप्रति लक्षित छ। स्थानीयले वडाध्यक्ष झालाई पटक–पटक यस जोखिमबारे जानकारी गराइसकेका छन्।
जनगुनासो बढेपछि केही समयअघि जनकपुरका मेयर स्वयम्ले उक्त स्थानको अनुगमन समेत गरेका थिए। तर, मेयरले हेरेर गएपछि पनि एउटा खुला सिभरको ढकनी हाल्ने काम नहुनुले स्थानीय सरकारको कार्यक्षमता र नागरिकप्रतिको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
खुला ढलको जिम्मेवारी कसको?
जनताको करबाट तलबभत्ता खाने जनप्रतिनिधिहरूले सहरको बीचमा रहेको ज्यानमारा धरापलाई बेवास्ता गरेर ठूलो मानवीय क्षतिको प्रतीक्षा गरिरहेको भान हुन थालेको छ।
यदि तत्काल यो खुला ढल बन्द गरिएन र थप कुनै गम्भीर दुर्घटना भयो भने, यसको सम्पूर्ण नैतिक र कानुनी जिम्मेवारी वडाध्यक्ष पण्डित सुरेश झा र उपमहानगर नेतृत्वले लिनुपर्ने स्थानीयले चेतावनी दिएका छन्।