जनकपुरधाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दुई मिठाई तथा डेरी उद्योगको ७ केजी अखाद्य रसबरी नष्ट गरेको छ। यस अनुगमनले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न र खाद्य वस्तुको गुणस्तर कायम राख्न महत्वपूर्ण कदम चालेको छ।
जनकपुरधाम–४ स्थित लड्डु गोपाल स्वीट्समा रसबरीको स्टार्च टेस्ट पोजेटिभ पाइएपछि रु. ६०० मूल्य बराबरको एक केजी रसबरी नष्ट गरिएको छ। सोही वडामा रहेको उत्पादन स्थल फोहोर पाइएकाले उद्योगलाई उत्पादन नगर्न निर्देशन दिइएको छ।
त्यस्तै, जनकपुरधाम–१४ स्थित माँ जानकी डेरी उद्योग प्रा.लि.मा गरिएको परीक्षणमा पनि रसबरीको स्टार्च टेस्ट पोजेटिभ पाइएको थियो। सो उद्योगबाट रु. ३,६०० मूल्य बराबरको ६ केजी रसबरी नष्ट गरिएको प्रतिवेदनमा उल्लेख छ।
अनुगमनका क्रममा जनकपुरधाम–१० स्थित रूपपति मिठान भण्डार र जय श्री राम जानकी डेरी उद्योगमा स्टार्च टेस्ट नेगेटिभ पाइए पनि सरसफाइमा ध्यान दिन तथा उत्पादित खाद्य वस्तुमा अनिवार्य रूपमा लेबल राख्न निर्देशन दिइएको छ। जनकपुरधाम–२ स्थित लक्ष्मी मिष्ठान भण्डारमा पनि स्टार्च टेस्ट नेगेटिभ पाइएको थियो, तर सरसफाइका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै खाद्य वस्तुको बिक्री वितरण गर्न निर्देशन दिइएको छ।
जनकपुरधाम–३ र जनकपुरधाम–४ स्थित हंसराज मिठाई पसलको उत्पादन स्थलको अवस्था सन्तोषजनक रहेको अनुगमन प्रतिवेदनमा जनाइएको छ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंका ईश्वर सुवेदी र सुसन निरौला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका रमेश दाहाल र प्रवीणकुमार तिवारी सहभागी थिए। टोलीमा विभागका शिव श्रेष्ठ र सञ्चारकर्मी प्रमोद साहसमेतको सहभागिता थियो।
यस अनुगमनले खाद्य वस्तुको गुणस्तर परीक्षणसँगै उत्पादन स्थलको सरसफाइ, खाद्य वस्तुमा लेबलिङ र उपभोक्ताको स्वास्थ्य सुरक्षाका विषयमा उद्योगी व्यवसायीलाई आवश्यक निर्देशन दिएको छ।