डा. धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा देशव्यापी जनमत निर्माण अभियान चलाउने निर्णय गरेको छ। पार्टीले संगठन विस्तार, गौ संरक्षण, प्रवासी नेपालीको मताधिकार र आगामी स्थानीय तह निर्वाचनलाई पनि प्राथमिकतामा राखेको छ।
बैठकले भदौ र असोजभित्र ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको छ। भदौभित्र युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन, विभाग र समितिहरू केन्द्रीय तहमा गठन गरिनेछ। यसका लागि केन्द्रीय सदस्यहरू सम्मिलित टोली परिचालन गरिनेछ।
संविधान निर्माणका क्रममा जनताबाट प्राप्त सुझाव सम्बोधन गर्न भन्दै पार्टीले संविधान संशोधनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्नेछ। यस अभियानमार्फत संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत निर्माण गर्ने लक्ष्य छ। गौ संरक्षणलाई पनि पार्टीले प्राथमिकतामा राखेको छ। बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्नेछ। सातै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माणका लागि राज्यलाई दबाब दिने निर्णय पनि भएको छ।
पार्टी सदस्यता अनलाइनबाट लिन सकिने गरी भदौभित्र विद्युतीय प्रणाली निर्माण गरिनेछ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गरिनेछ। विचार मिल्ने राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउन वार्ता समिति गठन गरिनेछ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गरिनेछ। स्थिर र समुन्नत नेपाल निर्माणका लागि पार्टीको नीति, विचार र लक्ष्यअनुसार मार्गचित्र तयार गर्न कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयगत विज्ञ नेपालीहरूको सहयोग र परामर्श लिनेछ। जय नेपाल पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आधारशिला मानेर राष्ट्रिय एकता, स्थिरता र समुन्नतिको लक्ष्य अघि बढाउने जनाएको छ।
