झापामा २१ लाख ५५ हजार रुपैयाँ बराबरका सात सिटी सफारी चोरीमा संलग्न १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, प्रहरीले चोरीमा संलग्न तीन जना र चोरीको सामान खरिद गर्ने सात जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले चोरी गरिएका सात वटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर पनि बरामद गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपककुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम र मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउ रहेका छन्।
चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा कारोबारमा संलग्न रहेको आरोपमा बिर्तामोड–५ का ४३ वर्षीय नसिम अकतर, भारत बिहार किसनगन्ज घर भई अर्जुनधारा–६ मा बस्दै आएका २० वर्षीय एमडी जिगर आलम र अर्जुनधारा–८ का ३२ वर्षीय सञ्जय चौधरी पनि पक्राउ परेका छन्।
यस्तै, मेचीनगर–७ इँटाभट्टाका २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिम बङ्गाल पानीटङ्की घर भई मेचीनगर–१४ चारआली बस्दै आएका ३२ वर्षीय पान बर्मु, भारत पश्चिम बङ्गाल बेलङ्गा थाना घर भई मेचीनगरस्थित चारआली बस्दै आएका ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बङ्गाल बरमपुर थाना घर भई चारआलीमा बस्दै आएका ४७ वर्षीय आख्तरुल शेखलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त प्रहरी टोली खटिएको थियो। टोलीले भद्रपुर, बिर्तामोड र काँकरभिट्टालगायत क्षेत्रमा पार्किङ गरिएका सिटी सफारी चोरीको अनुसन्धान गरेको थियो।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, विभिन्न मिति र समयमा चोरी भएका सिटी सफारीहरूको खोजतलास तथा अनुसन्धान गर्दा सिसिटिभी फुटेजको सहायताले संलग्न व्यक्तिहरूको हुलिया पहिचान गरी नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले मेचीनगर, अर्जुनधारा तथा चारआली क्षेत्रका विभिन्न कवाडी पसल र कोठाबाट चोरी गरिएका ब्याट्रीहरू बरामद गरेको छ।
पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालत झापाबाट आइतबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
