झापा प्रहरीले जिल्लाभर लागूऔषध प्रयोगकर्ता र कारोबारीविरुद्ध दुई दिने ‘स्वीप अपरेसन’ चलाएको छ। सोमबार र मंगलबार चलेको यो अभियानमा ९२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र मातहतका कार्यालयका टोलीले यो कारबाही गरेको हो।
पक्राउ परेका ९२ मध्ये ८३ जना सेवनकर्ता र नौ जना कारोबारी छन्। प्रहरीले उनीहरूको साथबाट ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइन र तीन ग्राम ९०० मिलीग्राम गाँजा बरामद गरेको छ। पक्राउ परेकामा ७९ पुरुष र चार महिला छन्।
मुख्य कारोबारी दमक–३ का २७ वर्षीय विकास भुजेल र भद्रपुर–७ की ३० वर्षीया सरिता राजवंशी हुन्। उनीहरूको साथबाट छ ग्राम ९० मिलीग्राम हेरोइन भेटियो। बिर्तामोड–६ का १८ वर्षीय देवेन्द्र विक र बिर्तामोड–३ घर भई हाल वडा नं ४ मा डेरामा बस्ने ३९ वर्षीय गणेशप्रसाद ओलीबाट पनि लागूऔषध बरामद भएको छ।
तीन ग्राम ९०० मिलीग्राम गाँजासहित बिर्तामोड–४ का २६ वर्षीय चाल्स लिम्बू र वडा नं ३ का ३० वर्षीय उमेश राजवंशी पक्राउ परे। शिवसताक्षी–७ चन्द्रडाँगीस्थित ‘एलेक्स’ भन्ने सुरज ढकालको घर खानतलासी गर्दा २० ग्राम ४१० मिलीग्राम हेरोइन फेलापไรयो।
चितवन भरतपुर–१४ की २४ वर्षीया सोनी खाती र मेचीनगर–६ काँकरभिट्टाकी ६० वर्षीया सीता राजवंशीबाट १० ग्राम ७७० मिलीग्राम हेरोइन बरामद भएको छ।
नौ जना कारोबारीमाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श दिएर अभिभावकको जिम्मा लगाइने वा पुनःस्थापना केन्द्र पठाइनेछ।
