झापा । ताप्लेजुङको लेलेप छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूले बिहीबार अर्जुनधारा नगरपालिकामा जग्गाधनी प्रमाणपत्र पाए। लिम्बूले भने, “ढिलै भए पनि पुर्जा पाइयो।”
लिम्बू, अर्जुनधारा–११ लक्ष्मीधापका सपना सिवा दर्जी र उमादेवी तामाङसहित १७ अव्यवस्थित बासिन्दाले जिल्ला भूमि समस्या समाधान समिति झापाबाट बिहीबार जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन्। यसले उनीहरूको पुस्तौँदेखिको असुरक्षाको अन्त्य गरेको छ।
प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले १७ जनालाई पुर्जा हस्तान्तरण गरिन्। उनले जोखिमयुक्त बस्तीबाहेक कसैलाई विस्थापित नगर्ने सरकारको नीति रहेको बताइन्।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार वडा नं ११ मा यसअघि १४४ जनाले लालपुर्जा पाएका छन्। पालिकाले ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र ६,३५९ अव्यवस्थित बासिन्दालाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ। नगरप्रमुख तामाङले अभियान छिटो सम्पन्न गर्न कर्मचारी सार्वजनिक बिदामा पनि परिचालन भएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वास्तविक लाभग्राहीलाई मात्र पुर्जा वितरण गर्न प्रशासन सजग रहेको बताए। नापी कार्यालयका प्रमुख शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा पुर्जा वितरण प्रक्रिया अघि बढेको छ। मेचीनगरका पाँच अव्यवस्थित बासिन्दालाई पनि आज पुर्जा प्रदान गरिनेछ।
