लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालको एकीकरणपछि आज जनकपुरमा बस्ने बैठकले मधेस सरकारको भविष्य निर्धारण गर्नेछ।
यो पहिलो संयुक्त बैठक दिउँसो १ बजे जसपा नेपालको संसदीय दलको कार्यालयमा बस्नेछ।
जसपा नेपालका नेता जितेन्द्र सोनलका अनुसार, आजको बैठकले संसदीय दलको नेता चयन गर्नेछ। मधेस प्रदेश सरकारको विषयमा पनि विस्तृत छलफल हुनेछ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने तय भएको छ। त्यसअघि जसपा नेपालले संसदीय दलको नेता चयन गर्नुपर्छ। वर्तमान सरकारलाई दिने समर्थनबारे निर्णय लिनुपर्ने अवस्था छ।
हाल जसपा नेपालको संसदीय दलको नेता सरोज यादव (बारा) छन्। लोसपा नेपालका संसदीय दलका नेता जैनुल राइन रहेका छन्। एकीकृत पार्टीले अब नयाँ नेता चयन गर्नेछ।
एकीकृत जसपा नेपालले नेता चयनपछि मधेस सरकारमा दावी प्रस्तुत गर्नेछ। हालसम्मको निर्णय अनुसार, वर्तमान गठबन्धन सरकारलाई नै सहयोग गर्ने सहमति छ।
जसपा नेपालका एक प्रदेश सांसदका अनुसार, संसदीय दलको नेतामा नै सबै कुरा निर्भर गर्छ। जसपा नेपाल र लोसपा नेपाल दुवैले नेताका लागि दावी गरेका छन्।
यदि सर्वसम्मत नभएमा यसको टुंगो लगाउने जिम्मा केन्द्रलाई दिइनेछ। केन्द्रले टुंगो लगाउन नसके चुनावबाट नेता चयन गर्नुपर्ने ती सांसदले बताए।
