भित्र्याउने बेलामा रोग र कीराको संक्रमणले बाली नष्ट हुने समस्याले जुम्लाका किसान सताइएका छन्। यसको समाधानका लागि पहिलोपटक बाली उपचार शिविर सञ्चालन गरियो। वर्षभरिको मेहनत खेर जाने अवस्थामा खेतबारीमै रोग पहिचान र नियन्त्रणका उपाय सिकाउन शिविर आयोजना गरिएको हो।
कृषि विकास कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–७, ८ र ९ का ३५ भन्दा बढी किसान सहभागी गराएको शिविरमा स्याउ, सिमी, खुर्सानी, भान्टा, काउली, बन्दा, कोदो, काँक्रो, धनियाँ, फर्सी, लौका, रायो साग र टमाटरसहित १३ बालीको परीक्षण गरियो।
परीक्षणमा स्याउमा बोक्रा खुइलिने रोग, पाते ढुसी, भुवादार लाही र कत्ले कीरा भेटियो। खुर्सानीमा ब्याक्टेरियाजन्य ओइलाउने रोग र कोत्रे ढुसी तथा टमाटरमा पछौटे डढुवाको समस्या देखिएको छ।
बन्दा र काउलीमा लाही, बन्दाको पुतली तथा ब्याक्टेरियाजन्य कुहिने रोगको संक्रमण छ। सिमी र भान्टामा कोत्रे रोग, फर्सी र लौकामा क्याल्सियम तथा बोरोनको कमी छ। काँक्रोमा फल कुहाउने औँसा तथा विषाणुजन्य समस्या देखिएको छ। सूचना अधिकारी दीपकसिंह धामीका अनुसार परीक्षण गरिएका बालीमा संक्रमण बढ्दो छ।
दुई वर्षअघि तातोपानी–५ लाम्रा ज्युलोमा भित्र्याउनै लागेको मार्सीधानमा ब्लास्ट रोगले पाँच हेक्टर धान नष्ट भएको थियो। किसानले फलफूल र नगदेबालीसँगै धानको समेत रोग परीक्षणको माग गरेका छन्।
जथाभावी विषादी प्रयोग नगर्न विज्ञको सुझाव
बाली रोग विज्ञ सरद पोख्रेलले नियमित बाली निरीक्षण गरी सुरुमै समस्या पहिचान गर्नुपर्ने बताए। रोग र कीराको पहिचान नगरी जथाभावी रासायनिक विषादी प्रयोग गर्दा उत्पादन, माटो र वातावरणमा नकारात्मक असर पर्ने उनको भनाइ छ। रोगको प्रकृतिअनुसार जैविक तथा भौतिक नियन्त्रण विधि अपनाउनुपर्छ।
कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले रासायनिक विषादी घटाएर निमजन्य तथा जैविक विषादीलाई प्राथमिकता दिन सुझाव दिए। कीरा नियन्त्रणका लागि क्यू लिउर, हेली लिउर, स्पोडो लिउर जस्ता मोहनी पासो तथा पहेँलो चिपचिपे पासो प्रयोग गर्न सकिन्छ। रोग व्यवस्थापनका लागि नीलोतुथो र चुनाको एक प्रतिशत मिश्रण प्रयोग गर्न सकिन्छ।
विज्ञहरूले जुम्लाका आठवटै स्थानीय तहमा बाली उत्पादन र मौसमअनुसार नियमित उपचार शिविर सञ्चालन गर्नुपर्ने औँल्याए। रैथाने बाली उत्पादन बढाउने नीतिसँगै रोग तथा कीरा नियन्त्रणमा स्थानीय तहले लगानी र प्राविधिक सेवा विस्तार गर्नुपर्ने उनीहरूको सुझाव छ।
कृषि विकास कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाको कृषि विकास शाखा र कृषि अनुसन्धान केन्द्र विजयनगरसँग समन्वय गरी शिविर आयोजना गरेको हो।
चन्दननाथ–९ बयालकाटियाका किसान तुलराज गिरीले समयमै रोग पहिचान र नियन्त्रणका उपायले बाली जोगाउन सहज हुने बताए। ‘भित्र्याउने बेलामै रोग लागेर बाली सखाप हुने समस्या छ,’ उनले भने, ‘समयमै उपचारको उपाय पाए उत्पादन जोगाउन सकिन्छ।’
