NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैलालीका किसान बाँदरको कहरमा: जमिनमुनिको बाली पनि सखाप

कैलालीका किसान बाँदर, बँदेल र दुम्सीको आतङ्कले हैरान छन्। शोभापती चौधरी र नारायण योगी जस्ता किसानले जमिनमुनिका बाली समेत जोगाउन सकेका छैनन्। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाको करिब ३० प्रतिशत खेती वन्यजन्तुले नोक्सान गर्छ।
Kamala Devi
Kamala Devi
25 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
कैलालीमा बाँदरको आतङ्क
Share:

कैलालीका किसान बाँदर, बँदेल र दुम्सीको आतङ्कले खेतीपाती गर्न नसक्ने अवस्थामा पुगेका छन्। विशेषगरी बाँदरले जमिनमुनिका बाली समेत सखाप पार्दा किसान ठूलो नोक्सानीमा परेका छन्। कैलारी गाउँपालिकाका शोभापती चौधरी दम्पतीले व्यावसायिक कृषि गर्दागर्दै पनि बाँदरको कहरले हैरान भएका छन्। उनीहरूले सखरखण्ड र मुमफली जस्ता जमिनमुनिका बाली जोगाउन खोजे पनि बाँदरले खनेर खाइदिएको गुनासो गरे। विभिन्न बाली, फलफूल र तरकारी खेती गर्दा पनि बाँदरले कुनै बाली नछोड्ने उनको अनुभव छ। “बाह्रै महिना बाँदरले साह्रै दुःख दियो। धान, गहुँ, मकै, तोरी, तरकारी सबै बाली बाँदरले खाइदियो,” शोभापतीले भनिन्। उनले १० बिगाहा जग्गामा केरा खेती गर्दा काँचै घरी बाँदरले खाइदिएको बताइन्।

चुरे गाउँपालिकाका नारायण योगी पनि बाँदरले १५-१६ रोपनी जग्गामा लगाएको फलफूल र खेतीपातीमा ठूलो नोक्सानी पुर्‍याएको बताउँछन्। स्याउ, सुन्तला, आँप जस्ता फलफूल मात्र नभई अलैँची खेतीसमेत दुम्सीले खाइदिएको उनको भनाइ छ। धान, मकै, गहुँ बाँदरले खाने गरेको उनले बताए।

कैलालीमा समथल भूभागदेखि चुरे पहाडसम्मका किसानहरू वन्यजन्तुको आतङ्कबाट पीडित छन्। सबैभन्दा बढी नोक्सान बाह्रै महिना ठूलो सङ्ख्यामा आउने बाँदरले गर्छ भने रातमा आउने बँदेल र दुम्सीले पनि बालीनाली सखाप पार्ने गरेका छन्। बाँदरले गहुँ र मकैको बिउ छरेको समेत टिपेर खाइदिने, बाला लाग्ने बेलामा बाली खाइदिने जस्ता समस्या किसानहरूले भोग्दै आएका छन्। स्थानीय किसान लक्ष्मी बोहराले घरमा भित्र्याएर सुक्न राखेको मकै समेत बाँदरले लगेको बताइन्।

खेती जोगाउन किसानहरू खेतबारीमै बस्नुपर्ने र हेरालु राख्नुपर्ने अवस्था छ। “बाँदरबाट खेती जोगाउन नसकेमा पुरै सखाप पार्छ,” किसान शेरबहादुर चौधरीले भने।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कैलालीमा बाँदरले सबैभन्दा बढी किसानलाई समस्या पारेको छ। बँदेल, दुम्सीले पनि समस्या गरेको उनको भनाई छ। कैलालीमा ८६ हजार ४ सय ५० हेक्टर जमिनमा खेती हुन्छ। जिल्लाभरिमा किसानले गरेको खेती मध्यमा करिब ३० प्रतिशत खेतीमा बाँदर, बँदेल र दुम्सीले नोक्सान पुर्‍याउने गरेको विष्टले बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार