कालीकोटको खाँडाचक्र–८ सेराबाडामा ४२० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको शिलान्यास शुक्रबार भयो।
खाँडाचक्र मेयर कमलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले आयोजनाको शिलान्यास गरे। जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्री, वडा–८ अध्यक्ष नन्दबहादुर मल्ल उपस्थित थिए। आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरी पनि समारोहमा सहभागी भए।
ऊर्जा तिला पावर कम्पनी प्रालिले यो आयोजना निर्माण गर्दैछ। यसको कुल लागत झन्डै ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ। आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीले यो जानकारी दिए। आयोजनाको सुरुङ तिलागुफा नगरपालिकाको धनाडादेखि खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ।
आयोजनाका प्रतिनिधि चौधरीका अनुसार, जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ। प्रभावित बासिन्दालाई मुआब्जा वितरण भइरहेको छ।
